ललिता साह
वोदेवर्साइन (सप्तरी) कात्तिक ६ गते। दसैंको खुशी साट्न ज्येष्ठ नागरिकलाई सम्मान तथा मातारानीको खोइछ भर्न एकल महिलालाई साडी वितरण गरिएको छ । सप्तरीको राजविराज नगरपालिका वडा १५ का अति विपन्न, गरिब, असहाय तथा एकल महिलालाई साडी, मिठाई तथा दसैं ंखर्च वितरण गरी बडादसैंको अवसरमा शुभकामना साटासाट गरिएको छ ।
राजविराज नगरपालिकाको कार्यवाहक नगरप्रमुख इसरत परविनले वडादसैंको विशेष अवसरमा वडाभरिका ज्येष्ठ नागरिक तथा एकल महिलालाई साडी तथा दसैं खर्च वितरण गरेर सम्मान गर्नुभएको वडाध्यक्ष ओमनाथ साहले जानकारी दिनुभयो ।
समाजका यस्ता वर्ग जसले दुई छाक टार्न पनि सोच्नुपरेको छ तिनीहरूको खुशी र दुःखमा हामी छौं भन्नु पनि स्थानीय सरकार सञ्चालनको एउटा महत्वपूर्ण पक्ष भएको कार्यवाहक नगरप्रमुख परविनको बुझाइ छ ।
विशेषगरी महाअष्टमीको दिनदेखि दुर्गामाताको बिदाइ गर्ने दिनसम्म मधेशमा मातारानीको खोइछा भर्न नयाँ वस्त्रको आवश्यकता पर्ने कुरालाई पनि ध्यानमा राखेर खरिद गरेर लगाउन नसक्ने आर्थिक अवस्थाका एकल महिलालाई साडी वितरण गरिएको उहााले बताउनुभयो ।
समयानुकूल महँगी बढ्दै गएको र विपन्नलाई चाडपर्व मनाउन सकस हुँदैगएको महसुस गरेर आम निर्वाचन जितेर आएदेखि गत वर्षको दसैंमा पनि वडाका ती वर्गलाई दसैं मनाउन सहज होस् र पर्व आएको अनुभूति दिलाउन वडा कार्यालयले लुगाफाटा दशैँ खर्च प्रदान गरी सम्मान गर्ने गरेको वडा अध्यक्ष साहले बताउनुभयो ।