• ११ मंसिर २०८१, मङ्गलबार

सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीः लाखौँको उपकरण माकुराको जालो

blog

फाइल तस्बिर

खोटाङ, कात्तिक ६ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी [इ–हाजिरी] वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले  विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिनुभयो  । 

वडा नं १२ जाल्पास्थित ज्योति माविमा विसं २०७६ देखि विद्युतीय हाजिरी चलेका छैनन् । वडा नं १५ विजयखर्कस्थित चम्पावती माविमा जडान गरेको करिब डेढ वर्षदेखि नै विद्युती यहाजिरीले काम दिएन । बिग्रिएको विद्युतीय हाजिरीको उपकरण मर्मत वा नयाँ जडानमा नगरपालिका र विद्यालय दुवैको ध्यान जान सकेको छैन ।

पन्ध्र वडा रहेको नगरपालिकाले पाँच वर्षअघि एउटाबाहेक सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको उपस्थितिलाई नियमित गर्ने उद्देश्यले विद्युतीय हाजिरी जडान गरेको थियो । सामुदायिक विद्यालयका शिक्षकको उपस्थितिलाई नियमित गर्दै शैक्षिक गुणस्तर उकास्नका लागि १८  माविमा जडान गरिएको विद्युतीय हाजिरीको अवस्थाका बारेमा हाल नगरपालिका नै बेखबर बनेको देखिएको छ । 

तत्कालीन नगरप्रमुख दीपनारायण रिजालको कार्यकालमा शिक्षकको विद्युतीय हाजिरी ‘ट्र्याकिङ’ गर्नेगरी विसं २०७५ असोज १ गतेदेखि नगरका सबै माविमा लाखौँ खर्च गरेर विद्युतीय हाजिरी सञ्चालनमा ल्याइएको थियो । बिग्रेका विद्युतीय हाजिरीको उपकरण नगरपालिका वा स्वयं विद्यालयले पनि मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने वा नयाँ उपकरण जडान गर्नमा कुनै चासो देखाएका छैनन् । 

बिग्रिएको विद्युतीय हाजिरीको उपकरण पुनः सञ्चालनमा ल्याउने तदारुकता नदेखिँदा कतिपय शिक्षकलाई हाइसञ्चो भएको अभिभावकले बताउने गरेका छन् । विद्युतीय हाजिरीमार्फत नगरपालिकाको कार्यालयमै बसेर सबै माविमा कार्यरत शिक्षकको उपस्थितिलाई निगरानी गर्ने व्यवस्था कार्यान्वयन हुँदा केही हदसम्म शैक्षिक क्रियाकलापमासमेत सुधार आएको थियो । 

विद्युतीय हाजिरी ट्रर्याकिङले ‘कुन विद्यालयका शिक्षक, कुनबेला उपस्थित भए, कुनबेला हाजिर गरे, कतिबेला विद्यालयबाट निस्किए’ भन्ने निगरानी हुने गरेको थियो । ई–हाजिरीको सुरुवाती दिनमा शिक्षकलाई नियमित गर्न सघाउ पुगेको पनि थियो तर, ई–हाजिरी जडानपछि त्यसको अवस्थाका बारेमा नगरपालिकाबाटै निरन्तर हेरचाह र चासो नपुग्दा अहिले बेकम्मा बन्न पुगेको छ । 

नगरपालिकाले कुनै एउटा निजी कम्पनीको  विद्युतीय हाजिरी उपकरण बिकाउने भूमिका मात्र निर्वाह गरेको जनाउँदै तत्कालीन नगरप्रमुख रिजालको आलोचना हुने गरेको छ । यतिसम्म कि तत्कालीन नगरप्रमुख रिजाल र उपप्रमुख विणादेवी राई नेपाल कम्युनिष्ट पार्टी [एमाले]बाट र वर्तमान नगरप्रमुख र उपप्रमुख गठबन्धनबाट निर्वाचित भएकाले पनि अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेको कामलाई अहिलेका जनप्रतिनिधिले चासो नदिएको कतिपयले आरोप लगाउने गरेका छन् ।  

कमसल खालको उपकरण जडान गरेकाले विद्युतीय हाजिरीको उपकरण हाल बिग्रिएको अवस्थामा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वर्तमान नगरप्रमुख एवं शिक्षा शाखा प्रमुख तीर्थराज भट्टराई बताउनुभयो । “कतै चल्छन्, कतै चल्दैनन् । सबै विद्यालयमा जडान गरिएका  विद्युतीय हाजिरीको उपकरण कमसल भएको पाइएको छ”, उहाँले भन्नुभयो, “बिक्री गर्ने कम्पनी र नगरपालिकाबीच कस्तो सम्झौता भएको रहेछ भनेर हेर्दैछौँ । घोटाला भएको ठहर भएमा कारबाही हुन्छ ।”

निकै तामझामका साथ जडान गरिएको  विद्युतीय हाजिरी केही विद्यालयमा छ-सात महिना नपुग्दै बिग्रेर थन्किएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकले बताउने गरेका छन् । अधिकांश विद्युतीय हाजिरी कोभिडको निहुँमा बन्द भएको समाचार स्रोतले जनाएको छ ।