सिराज खान
नेपालगन्ज, कात्तिक ५ गते । नेपालगन्जस्थित लाइफलाइन जनरल हस्पिटलले मिर्गौला पीडित बिरामी र नर्सहरुलाई लक्षित गरेर निःशुल्क परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
डायलाइसिस गराइरहेका बिरामीलाई हस्पिटलले आफैँ बोलाएर निःशुल्क परामर्श प्रदान गरेको अस्पताल प्रमुख डा.पारश श्रेष्ठले जानकारी दिनुभयो ।
परामर्श कार्यक्रममा डाइटिसियन कुबेर गिरीले डायलाइसिस गराइरहेका बिरामीहरुको डाइट प्लान, के खाने के नखाने, खानाको मात्रा कस्तो हुनुपर्छ लगायतका विषयमा जानकारी गराउनुभयो । उहाँले बिरामीहरुले आफुले अपनाउनुपर्ने सावधानी नअपनाउँदा समस्या हुने गरेको भन्दै अन्य समयमा जस्तै चाडपर्वमा समेत खानपान सन्तुलित गर्न बिरामीहरुलाई आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा फिजिसियन डा. पारस श्रेष्ठले निमोनिया र फ्लू भ्याक्सिन लगायतका बारेमा जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘एक हिसाबले यो बिरामीको लागि पढाइ नै हो भन्दा पनि हुन्छ, मिर्गौलाका बिरामीले लामो आयुको लागि आफैँ अपनाउनुपर्ने सजगता, सावधानी, खानपिनका बारेमा पढाइएको छ, केही भ्रम र तथ्यहरुलाई हाम्रो पार्टबाट चिर्ने प्रयास गरेका छौं ।’
कार्यक्रममा उपस्थित बिरामीहरुले चिकित्सकहरुसँग विभिन्न विषयमा जानकारी लिएका थिए । बिरामीहरुका प्रश्न र जिज्ञासालाई डायटिसियन गिरी र डा. श्रेष्ठले स्पष्ट पार्नुभएको थियो ।
अस्पतालले दसैं तिहार लगत्तै बिरामीहरुलाई डाइट प्लान चार्टसमेत उपलब्ध गराउने जनाएको छ ।
नेपालगन्ज र कोहलपुर क्षेत्रका मिर्गौलाको डायलाइसिस गराइरहेका २५ भन्दा बढी बिरामी कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा भेरी अस्पतालका फिजिसियन डा.संके रिसालले भेरी अस्पतालको डायलाइसिस सेवाको इतिहास स्मरण गर्दै बिरामीहरुलाई आत्मबल बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले चिकित्सकले भने बमोजिम खानपानलाई व्यवस्थित गर्न र स्वास्थ्यमैत्री जीवनशैली आत्मसात् गर्न समेत बिरामीहरुलाई अनुरोध गर्नुभयो ।
पछिल्लो समय मिर्गौलाका बिरामी अस्वाभाविक रुपमा बढ्दै गएका छन् । बालबालिकादेखि युवा पुस्तासमेत मिर्गौला समस्यासँग जुधिरहेका छन् । अस्वस्थ खानपिन र बदलिँदो जीवनशैलीका कारण मिर्गौला समस्या भयावह बन्दै गएको चिकित्सकहरुको भनाइ छ ।