• ११ असोज २०८१, शुक्रबार

माटोका सामग्रीले पायो बजार

blog

घोराही समाचारदाता

घोराही, कात्तिक ५ गते  । दाङमा माटोका सामग्री बनाउने कुमाल समुदायलाई प्रोत्साहन गर्ने उद्देश्यले गढवा गाउँपालिकाले माटोका सामग्री बजारीकरण गरिदिन थालेको छ । गढवा गाउँपालिकालाई सेरामिकको हबका रूपमा विकास गर्ने उद्देश्य अनुसार पालिकाभित्र उत्पादन भएका माटोका सामग्रीको पालिकाले बजारीकरण गर्न सुरु गरेको हो । 

पलिकाका विभिन्न ठाउँमा माटोका सामग्री उत्पादन हुने तर बिक्रीका लागि समस्या भइरहेका बेला पालिकाले बजारीकरणमा सहयोग गरिदिएपछि कुमाल समुदाय खुसी भएका छन् । आफैँ उत्पादन गर्ने र बिक्रीका लागि आफैँ लैजानुपर्दा खर्च बढ्ने समस्या भइरहेका बेला पालिकाले बजारसम्म लगिदिने भएपछि सहज भएको गढवा गाउँपालिका–३ निवासी रामलाल थारू कुमाल बताउनुहुन्छ । 

पुर्ख्याैली पेसाका रूपमा माटाका भाँडा बनाउँदै आउनुभएका उहाँले भन्नुभयो, “हाम्रो मुख्य पेसा नै माटोका भाँडा बनाउने हो । तर बनाउनेदेखि बजारसम्म बिक्रीका लागि लैजानुपर्दा लागत धेरै लाग्ने गरेको थियो । जसले गर्दा आर्थिक रूपमा कमजोर परिवारले गर्न सक्ने अवस्था थिएन तर अहिले पालिकाले निःशुल्क रूपमा बजारसम्म लगिदिन थालेपछि सजिलो भएको छ ।” 

स्थानीय उत्पादनका रूपमा रहेका माटोका भाँडालाई बजारीकरणका लागि गढवा गाउँपालिकाले सहयोग गरिदिएपछि आफूलाई हौसला बढेको खैरा निवासी राजबहादुर थारू कुमाल बताउनुहुन्छ । माटोका सामग्रीको बजारीकरण ठुलो समस्याका रूपमा रहेको बेला पालिकाले सहयोग गरिदिएपछि काममा सहजतासँगै उत्पादनमा समेत वृद्धि हुने उहाँ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “पहिले माटोका भाँडा बनाउनेसँगै बिक्रीका लागि बजारसम्म लैजान समस्या हुने गरेको थियो । अहिले हामीले बनाएका सामग्री पालिकाले गाडीबाट बजारसम्म लगिदिन्छ । व्यवसायीलाई घरमै सामग्री पु-याउँदा मूल्यसमेत बढी दिने गरेका छन् ।” उहाँका अनुसार पालिकाले गाडीका माध्यमबाट देउखुरीका लमही, भालुवाङ, घोराही, तुलसीपुरलगायतका बजारमा बिक्रीका लागि लैजाने गरेको छ । 

गढवा गाउँपालिकालाई सेरामिक हबका रूपमा विकास गर्ने उद्देश्य अनुसार कुमाल समुदायले उत्पादन गरेका माटोका सामग्री बजारीकरण गरिदिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो । माटोबाट बनेका गमला, खुत्रुके, पाला, गमलालगायतका सामग्री बजारीकरणमा सहयोग गरेको भन्दै उहाँले यसबाट उत्पादनमा वृद्धिसँगै आम्दानीसमेत बढ्ने अपेक्षा लिइएको बताउनुभयो । त्यसका लागि गाउँपालिकाले कृषि एम्बुलेन्ससमेत सुरुवात गरेको गाउँपालिका अध्यक्ष पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “माटोका सामग्रीसँगै पालिकाभित्रका किसानले उत्पादन गरेका तरकारी, दुधलगायतका सामग्री कृषि एम्बुलेन्सका माध्यमबाट बजारीकरण गर्ने र किसानको आर्थिक अवस्थालाई सुधार गर्ने लक्ष्य रहेका छ ।”

गाउँपालिकाले ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको संयुक्त पहलमा परम्परागत सिपलाई आधुनिकीकरण गर्ने र गढवा गाउँपालिकालाई सेरामिकको हबका रूपमा विकास गर्ने उद्देश्य अनुसार पालिकाले योजनाबद्ध रूपमा कुमाल समुदायको माटोको भाँडा बनाउने पेसालाई व्यवस्थित, प्रविधिमैत्री बनाउनुका साथै उत्पादन भएका सामग्रीको बजारीकरणमा सहयोग गर्न थालेको अध्यक्ष पोख्रेल बताउनुहुन्छ । गढवा गाउँपालिकाका खैरा, पत्रिङ्गा र गढवा गाउँका कुमाल समुदाय माटाका भाँडा बनाउने काममा संलग्न छन् ।