• ७ माघ २०८१, सोमबार

बस चल्यो तर जोखिमपूर्ण यात्रा

blog

सर्लाही समाचारदाता

सर्लाही, कात्तिक ५ गते । सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा बस सञ्चालन हुन थालेको छ । वडा कार्यालयले खोलाको बाटो मर्मत गरेपछि लालबन्दी नगरपालिका–१४ मा पर्ने नारायण खोलाको सबै भेगसम्म बस सञ्चालन हुन थालेका हुन् । सडक नपुगेको त्यस क्षेत्रमा हिउँदमा पानी कम भएका बेला खोलाको बगरबाट बस गुड्ने गरेका छन् । 

बस व्यवसायीसमेत रहेका वडाध्यक्ष छेनामसिंह घिसिङले नारायण खोलाको डाइनीतर्फ डाइनी खोला शिर र लखन्देहीतर्फ कामीटारको शिरसम्म नै चार दिनदेखि बस सञ्चालन हुन थालेको बताउनुभयो । दसैँको बेला बस गुड्न थालेपछि स्थानीयवासीलाई लालबन्दी बजारसम्म किनमेलका लागि आउजाउ गर्न सहज भएको छ । 

सीमित बस सञ्चालन हुने भएकाले बसभित्र तथा छतमा कोचाकोच गरेर बजार आउजाउ गर्नुपर्ने बाध्यता नरहेको नारायण खोलाका युवा रोशन दोङले जानकारी दिनुभयो । नारायण खोलाबाट सिन्धुलीको क्यान खोलासम्म नै बस पुग्ने गरेको भए पनि यो वर्ष सिन्धुलीतर्फको सडक त्यहाँको स्थानीय सरकारले मर्मत नगरेकाले त्यसतर्फ बस पठाउन नसकिएको वडाध्यक्ष घिसिङले बताउनुभयो । 

नारायण खोलामा अब हिउँदका महिनाभर खोलाको बगरबाट बस सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । पानी पर्न रोकिएर खोलामा बाढी घटेपछि जिल्लाको पिपलदमार, शिर कालिञ्जोरलगायत चुरे भेगका अन्य ठाउँमा पनि खोलाको बगरबाट बस चल्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।