• १२ मंसिर २०८१, बुधबार

पालिकास्तरीय अस्पताल भवन निर्माण अलपत्र

blog

फाइल तस्बिर

म्याग्दी, कात्तिक ४ गते । याग्दीको मङ्गला गाउँपालिका-५ हाँडेभिरमा निर्माणाधीन पालिकास्तरीय अस्पतालको भवन अलपत्र बनेको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार वि.सं.२०७७ पुुसमा मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन शिलान्यास भएको थियो । 

प्रारम्भिक चरणको काम सुरु भएको भवन निर्माण दुुई वर्षदेखि रोकिएको मङ्गला गाउँपालिका-५ का वडा अध्यक्ष भुुपेन्द्र खत्रीले बताउनुुभयो । “निर्माण सकिनुपर्ने समयसम्म दश प्रतिशत पनि भौतिक प्रगति भएको छैन,” उहाँले भन्नुुभयो, “डिपिसी गरेर ठडाएको पिल्लर लेउ लागेको छ । ठेकेदार काममा फर्किएका छैनन् ।”

भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौँसँग २०७८ साल असारमा नौ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो । भवनको कूल १२ करोड ९७ लाखको लागत अनुमान गरिएको थियो । २०८० साल असार महिनासम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । ३५ वटा कोठा हुुने भवनको वि.सं.२०७७ पुस १५ गते गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गर्नुुभएको थियो ।

१० शय्या क्षमताको अस्पतालका लागि एक हजार एक सय २४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको थियो । आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन बनाउन लागिएको थियो । निर्माणाधीन भवन गत महिना पोक-नेटा-अर्मन सडकबाट आएको पहिरोले पुुरिएको छ । 

अस्पतालका लागि अर्मन स्वास्थ्यचौकी परिसरमा पाँच वर्षअघि आठ रोपनी जग्गा व्यवस्थापन गरिएको थियो । मुुख्य र सहायक ठेकेदारको विवादका कारण भवन निर्माण अलपत्र परेको हो । सहायक ठेकेदार प्रवीन सापकोटाले मुुख्य ठेकेदार ओमबुद्धका सञ्चालकले पालिकाबाट लगेको बजेट आफूलाई नदिएकाले काम गर्न नसकेको बताउनुुभयो ।

मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुुमार पौडेलले पटक-पटक ताकेता गर्दा पनि निर्माण कम्पनी काममा नफर्किएको बताउनुुभयो । कार्यपालिकाले साउनमा नौ महिनाको म्याद थप गरेको थियो । भवन निर्माणलाई निरन्तरता नदिएकाले धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको प्रशासकीय अधिकृत पौडेलले बताउनुुभयो । 

धवलागिरि गाउँपालिकाको ताकममा निर्माणाधीन पाँच शय्या क्षमताको अस्पताल भवन पनि अलपत्र बनेको छ । अन्नपूर्ण गाउँपालिका-१ दोबामा करिब पाँच करोड लगानीमा निर्माण भएको पाँच शय्या क्षमताको अस्पताल भवन प्रयोगमा आएको छैन । रासस