• २२ असार २०८१, शनिबार

जमुनाहा नाकाबाट दसैं मान्न आउनेको संख्यामा कमी

blog

नेपालगञ्जस्थित जमुनाहा नाकामा दसैं मान्न नेपाल फर्किएका र रुपैडिहामा किनमेल गरेर फर्कदै गरेका सर्वसाधारणको भीड । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक ३ गते । नेपाल–भारत सिमाक्षेत्रस्थित बाँकेको जमुनाहा नाका नेपालकै ठूलोमध्येको हो । यो नाका भई नेपालबाट भारत र भारतबाट नेपाल आउने–जाने नागरिकको उल्लेख्य चहलपहल हुनेगर्छ । तर यसपाली दसैंमा घर आउने नेपालीको संख्या तुलनात्मक कम रहेको छ । 

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक मीनबहादुर विष्टले पहिलाका बर्षभन्दा यस बर्ष जमुनाहा नाकाबाट दसैं मान्नका लागि अत्यन्तै कम संख्यामा नेपालीहरु नेपाल फर्केको बताउनुभयो । यो बर्ष आजका दिनसम्म दसैं मान्न नेपाल आउनेको संख्या मुस्किलले ८–९ हजारको हाराहारीमा रहेको उहाँले बताउनुभयो । 

दशैं मान्न भारतबाट नेपाल आउनेभन्दा किनमेल गर्न नेपालबाट रुपैडिहा जाने र किनमेल गरेर फर्कनेको संख्याले गर्दा जमुनाहा नाकामा धेरै भिडभाड बढाएको उहाँले बताउनुभयो ।

“पहिलाका बर्षमा दसैंको बेलामा यो नाकाबाट आजको दिनसम्ममा २० हजारबढी नेपाली नेपाल आइसक्थे । तर यो बर्ष त जम्मा ८ देखि ९ हजारको आसपासमा मात्र नेपालीहरु नेपाल आएका छन्” प्रवनानि विष्टले भन्नुभयो, “विहान ६ देखि ९–१० बजेको समयमा मात्र दसैं मान्न आएकाहरुले नाकामा अलिकति भिडभाड हुन्छ दिनभरी हुँदैन, बरु नेपालबाट भारतको रुपैडिहामा किनमेल गर्न जानेको उल्लेख्य संख्याले धेरै भिड हुन्छ ।”

पहिलाजस्तो चाडवाडको उल्लास पछिल्लो समयमा नपाइएको उहाँले बताउनुभयो । “पहिला पहिलाका दसैंमा मानिसमा बेग्लैखालको उल्लास र रौनक पाइन्थ्यो, भारतमा काम गर्न गएका नेपालीहरु धेरै आउँथे । तर पछिल्लो समयमा मानिसहरुमा त्यस्तो उल्लास पाइँदैन” उहाँले भन्नुभयो, “आर्थिक अवस्थाका कारण पनि होला कमाउन गएकाहरु चाडवाडमा पनि कम फर्केका छन् ।”

होटल व्यवसायी संघ बाँकेका सचिव रेशम पोख्रेलले पहिलाका दसैंमाजस्तो यसपालिको दसैंमा भारतबाट आउने नेपालीबाट हुने व्यापार नभएको बताउनुभयो । 

“पहिला पहिला दसैं मान्न भारतबाट नेपाल आउने दाजुभाइ दिदीबहिनीको भिडभाडले नेपालगञ्जका होटलको व्यापार व्यवसाय पनि राम्रै हुन्थ्यो, होटलहरु टनाटन हुन्थे । तर यसपटक भने चहलपहल छैन” सचिव पोख्रेलले भन्नुभयो, “दसैं मान्न भारतबाट आउने नेपालीले आफ्नो गन्तव्य स्थानमा जाने गाडीलाई पर्खिनु पर्दा होटलमा बसेर खाजा तथा खाना खाने होटलमा रात बिताउने गर्दा व्यवसाय बढ्थ्यो । यसपाली त्यस्तो छैन, अत्यन्तै कम छ ।” जमुनाहा नाका भएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसमेतका तराई तथा पहाडी जिल्लाका नागरिकले भारत आवत–जावत गर्ने गर्दछन् ।