• १५ मंसिर २०८१, शनिबार

दसैंमा पहिरो पीडितलाई नयाँ घर

blog

राई दम्पत्तीका लागि निर्मित नयाँ घर हस्तान्तरण कार्यक्रममा अतिथिहरु । तस्बिर : राधा लुइटेल

राधा लुइँटेल
फिदिम, कात्तिक ३ गते ।
असार २ गते राति भएको अविरल वर्षासँगै गएको पहिरोले घर भत्केर बिचल्लीमा परेका जिल्लाको फालेलुङ–३ निवासी मनप्रसाद राई दम्पतीलाई नयाँ घर हस्तान्तरण गरिएको छ ।

पहिरोले घर पुर्दा राईकी ९ वर्षीया नातिनी जुना सावदेनको निधन भएको थियो । घरसँगै नातिनी गुमाएका राई दम्पतीलाई जन सेवा समाजको संयोजनमा विभिन्न व्यक्तिको आर्थिक र नेपाली सेनाको श्रम सहयोगमा घर निर्माण गरिएको हो ।

घर निर्माणका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरीक्षक पुण्यप्रसाद अधिकारी, प्रहरी हवल्दार राजेश गौतम, व्यवसायी हरि लोवाले जस्तापाता र किला काँटी जस्ता आवश्यक सामग्री खरिदका लागि ३२ हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको थियो ।

यस्तै, घर बनाउन नेपाली सेनाले श्रम सहयोग गरेको संयोजनको जिम्मेवारी लिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो  ।

उहाँका अनुसार काठ, चित्रा, ढुङ्गा, माटो र टिन प्रयोग गरेर घर निर्माणका लागि नेपाली सेनाका १२ जवानले निरन्तर सात दिन श्रम सहयोग गर्नुभएको थियो ।

नवनिर्मित घर बिहीबार फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्र जवेगू, को उपस्थितिमा पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती, नेपाली सेनाको फिदिमस्थित रणशेर गणका गणपति दिलीप राउत, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हेमन्त भण्डार लगायतले एक समारोहबीच हस्तान्तरण गर्नुभयो । पहिरोले घर पुरिएपछि घरबारविहीन हुनुभएको राईले सहयोगी र दातालाई धन्यवाद दिनुभयो ।