• ७ माघ २०८१, सोमबार

सीमा सुरक्षामा गम्भीर हुन १४३ वडाध्यक्षको एपिएफलाई आग्रह

blog

सशस्त्र प्रहरीले बर्दिबास बाहिनी राखेको वडाध्यक्षसँगको अन्तरक्रिया कार्यक्रम । तस्विरः रवीन्द्र उप्रेती

बर्दिबास, कात्तिक ३ गते । चाडपर्वको समयमा नेपाल–भारत खुला सिमानाले अवैध क्रियाकलाप हुने भएको सीमा सुरक्षामा गम्भीर हुन सशस्त्र प्रहरीलाई सीमाक्षेत्रका जनप्रतिनिधिहरूले आग्रह गरेका छन् । 

सीमा क्षेत्रमा कडा निगरानी, सुरक्षा गस्ती र तार वार नगरे यस्ता समस्या बढ्दै जाने उहाँको भनाइ छ । वडाध्यक्षहरूले समय छँदै सीमाक्षेत्रको स्थायी समाधान गर्न आग्रह गर्नुभएको छ । सशस्त्र प्रहरीको बर्दिबासस्थित नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयमा बिहीबार ‘सीमावासीसँग सशस्त्र प्रहरी’ विषयक सीमा सुरक्षाको महत्त्व तथा सीमा अपराध नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सीमा क्षेत्रका घटनाक्रम प्रस्तुत गर्नुहुँदै वडाध्यक्षहरूले यस्तो आग्रह गर्नुभएको हो । 

मधेस प्रदेशको नेपाल भारत अन्तर्राष्ट्रिय सीमासँग जुटेको ८ जिल्लाका १४३ वडाका वडाध्यक्षहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । त्यस क्रममा दशगजा अतिक्रमण, सीमास्तम्भ हेरफेर, लागु औषध ओसारपसार, आपराधिक चलखेल, नेपाली क्षेत्रमा पूर्वाधारको कमी र भारतीय सशस्त्र सीमा बल (एसएसवी) ले गरेका ज्यादती बारे वडाध्यक्षहरूले जानकारी गराउनुभएको थियो । 

भारतसँग ५ किमी सीमा जुटेको बारा जिल्ला देउताल ३ का वडाध्यक्ष रामकिशोर प्रसाद कुशवहाले आफ्नो वडाको दशगजा क्षेत्रमा यसअघिका ६३ वटा सीमास्तम्भ (पिलर) मध्ये २० वटा हराएको बताउनु भयो । ‘भारतीय सुरक्षाकर्मीले पिलर हेरफेर गरी सीमा अतिक्रमण गर्दा पनि नेपाली पक्षले त्यसबारे किन चासो लिँदैन ?’ उहाँको प्रश्न थियो । बारा देउतालकै वडा नं ४ पनि भारतीय सीमासँग जुटेको वडा हो । वडाध्यक्ष ललन यादवका अनुसार यसअगि सीमाक्षेत्रमा ७२ वटा सीमास्तम्भ थिए अब ५० वटा मात्र छन् । 

‘हराएका २२ थान पिलर कसले खोज्ने र कहिले अधावधिक गर्ने ? यादवले प्रश्न गर्नुभयो । दशगजामा भारतीय सुरक्षाकर्मीले एकलौटी रुपमा थुप्रै पिलर हेरफेर गरे पनि नेपाली पक्षले कुनै वास्ता नगरको अन्य वडाका वडाध्यक्षहरूको पनि गुनासो थियो । 

एसएसवीको यस्तो गतिविधि नेपाल भारतबिच भएको सहमति र समझौता विपरीत रहेको उहाँहरूको भनाइ छ । वडाध्यक्षहरुका अनुसार ‘सीमा क्षेत्रलाई यथास्थितिमै रहन देऊ’ भनी उच्च तह (हाई लेबल) मा हस्ताक्षर नै भएको छ  । यी हस्ताक्षर सन १८१६ को सुगौली सन्धिपछिका पूरक सम्धिमा भएको हो ।

‘दशगजा क्षेत्रमा एसएसवीले गरेका गतिविधि पूरक सन्धिको विरुद्ध हो’ सहभागि वडाध्यक्षहरूले भन्नु भयो ‘पूरक सन्धिअनुसार भए रहेका दशगजा क्षेत्र र सीमास्तम्भलाई आफूखुसी गर्न पाइँदैन । अतिक्रमित क्षेत्रमा सीमा विवाद समाधान भएपछि मात्र हटाउने भन्ने हो । तर उनीहरूले (भारतीय पक्ष) आफू खुसी सीमा मिच्न छाडेका छैनन् । यसलाई कसरी नियन्त्रण गर्ने ?’

पर्सा गाउँपालिका २ सर्लाहीका वडाध्यक्ष राकेश रामले एसएसवीले नेपालीमाथि थिचोमिचो गर्दै आए पनि त्यसको रोकथाम र नेपालीलाई सुरक्षा प्रत्याभूति दिन कसैले चासो नलिएको गुनासो पोख्नुभयो । ‘भारतीयले दशगजा मिचेरै घर पसल थापेका छन् तर नेपालीले आफ्नो सीमाभित्र रहेर काम गर्दा पनि एसएसवीले नेपाल सरहदमै छिरेर हस्तक्षेप गर्छन् । यस्तो अवस्थामा हाम्रो सुरक्षा कसले गर्ने ?’ उहाँले प्रश्न गर्नुभयो । 

सीमा समस्यापछि वडाध्यक्षहरूले खुला सिमानाका कारण हुने लागु औषध कारोबार र दुर्व्यसन समस्यालाई प्रमुखतासाथ उठाउनुभएको थियो । त्यस्तै घरखर्चका सामान ल्याउन अवरोध नगर्न र नेपाल भारत सहज आवागमन तथा बन्द रहेका छोटी भन्सारहरू सुचारु गर्नुपर्ने जस्ता सुझाव राख्नु भएको थियो । अन्तरक्रियाका प्रमुख अतिथि एवं सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले वडाध्यक्षहरू स्थानीय सरकारका प्रतिनिधि भएकोले उहाँहरूसँगको समन्वयमा सीमा समस्या समाधानका लागि भावी कदम चालिने बताउनुभयो । 

‘सीमाक्षेत्रको पहिलो रक्षक सीमावर्ती गाउँका बासिन्दा नै हुन् । सशस्त्र प्रहरी त ०६६ सालदेखि सीमाक्षेत्रमा खटिएको हो’ दाहालले भन्नुभयो । दशगजा अतिक्रमण, सीमा स्तम्भ, लागु औषध रोकथाम, छोटी भन्सार सञ्चालन, सीमा अपराध नियन्त्रण जस्ता विषयमा यहाँबाट प्राप्त अमूल्य सुझावले नीति तथा कार्यक्रममा तर्जुमा गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।’  

कार्यक्रमलाई सम्बोधन गर्दै बाहिनी पति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले सशस्त्र प्रहरीको कार्यदिशामा अन्तर्राष्ट्रिय सीमा सुरक्षा उच्च प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले भारतसँग जुटेका मधेस प्रदेशका १४३ वटै वडाका वडाध्यक्षहरूको संयोजकत्वमा सीमा सहजीकरण समिति गठन भइसकेको र यसलाई क्रियाशील र प्रभावकारी बनाउन ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । 

‘कार्यक्रममा सहभागी वडाध्यक्षज्यूहरूले उठाउनुभएका समस्या सम्बोधन गर्न सीमावर्ती वडाहरूमा  सशस्त्र प्रहरीले सीपमूलक, चेतनामूलक, अन्तरक्रियात्मक जस्ता कार्यक्रम सञ्चालनको तयारी गरेको छ’ डिआइजी शाहले आग्रह गर्नुभयो ‘यसलाई प्रभावकारी बनाउन तपाईँहरूको साथ, सहयोग र सहकार्य आवश्यक छ ।’ 

Author

रवीन्द्र उप्रेती