• १५ मंसिर २०८१, शनिबार

सवारी दुर्घटना रोक्न चालकलाई सम्मान

blog

फाइल तस्बिर

झापा, कात्तिक २ गते । चाडपर्वको अवसरमा हुने सवारी दुर्घटना रोक्न सवारी चालकलाई सम्मान गरिएको छ । मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा चालकलाई जिम्मेवार बनाउन र उनीहरुको आत्मविश्वासलाई बढाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज सम्मान गरेको हो । 

बडादसैँ, दीपावली तथा छठपर्वलाई लक्षित गरेर संगठनले थालेको ‘सुरक्षित यात्राका सारथी’ नारासहितको कार्यक्रममा काँकडभिट्टाबाट महेन्द्रनगर, नेपालगन्ज, चरिकोट र पोखराजस्ता लामारुटमा सवारी कुदाएर हालसम्म कुनै दुर्घटना तथा ट्राफिक कारबाहीमा नपरेका चालकलाई अबिर, मालाले सम्मान गरिएको छ ।

सम्मानित हुने चालकमा श्यामबहादुर गुरुङ, हरेराम खड्का, गोविन्द ढकाल, सचिन महत, रविन रिजाल, दीपक गौतम, जगत् पौडेल र ढुवानी मजदुर विर्खबहादुर गिरी रहेका छन् । दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले आठजना चालकलाई सम्मान गरिएको  संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभयो । 

उहाँले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकले देखाएको इमान्दारिताले समाजमा अरु मान्छेलाई पनि सहयोगी बन्न प्रेरणा मिल्ने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द बुढाथोकीले सवारीमा यात्रुमैत्री व्यवहार गर्न सवारी चालक, सहचालक र परिचालकलाई आग्रह गर्नुभयो । रासस