• ३० वैशाख २०८२, मङ्गलबार

गृह श्रमिकको पहिचान स्थापित गर्नुपर्नेमा जोड

blog

तस्बिर : कविता थापा

काठमाडौँ, कात्तिक २ गते । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको आर्थिक समृद्धिमा योगदान पुर्याइरहेका गृह श्रमिकको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । 

गृह श्रमिक दिवसको अवसरमा होमनेट साउथ एसियाद्वारा विहीवार आयोजित तीन दिने सम्मेलनमा मन्त्री भण्डारीले आर्थिक सशक्तिकरणमा योगदान दिने गृह श्रमिकलाई औपचारिक पहिचान प्रदान गर्न पहल गरिने बताउनुभएको हो । 

उहाँले नेपाललगायत विश्वभरकै महिलाले गृह श्रममार्फत परिवारलाई आर्थिक टेवा पुर्याइरहेको अवस्थालाई स्वीकार्दै गृह श्रमिकको श्रमले आर्थिक सशक्तिकरणसहित समानता आउने विश्वास व्यक्त गर्नुभयो । होमनेट साउथ एसियाका अध्यक्ष रेनाना झ्यावलाले यस सम्मेलनले दक्षिण एसियामा गृह श्रमिकको पहिचान र अधिकारको आन्दोलनमा एकजुट हुन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   

होमनेट साउथ एसियाका क्षेत्रिय संयोजक सृष्टि जोशी मल्लले दक्षिण एसियाका ६२ वटा गृहश्रमिक संगठनको क्षेत्रिय सञ्जाल होमनेट साउथ एसियाका प्रतिनिधीहरुसहित आयोजित यस तीन दिने  सम्मेलनमा गृह श्रमिकलाई श्रमिकको मान्यता दिलाउन र श्रम अधिकारको पहुँच दिलाउने सन्दर्भमा आवाज बुलन्द गरिने बताउनुभयो । 


उहाँले नेपाल, बङ्गलादेश, भारत र पाकिस्तानका गृह श्रमिकले बाँस, माटो, ढाका, मकैका खोस्टा, पराल, काठ, पात, धागोलगायतका कच्चा पदार्थ प्रयोग गरी परम्परागत र विद्युतीय र चिकित्साजन्य उपकरण समेत निर्माण गर्दै अर्थतन्त्रलाई चलायमान बनाइरहेको बताउनुभयो । 

गृह श्रमिक तथा महिला आन्दोलनका अभियन्ता चाँदनी जोशीले करिब ९५ प्रतिशत महिला संलग्न गृह श्रमिक क्षेत्रको आवाजलाई नीतिगत तहसम्म पुर्याउन आठ देशमा छरिएर रहेका गृह श्रमिकको छाता संगठन होमनेट साउथ एसियामार्फत संगठित भएको बताउनुभयो । होमनेट साउथ एसियाका संरक्षक फुन्सोक सि.छिरीङले यस संस्थामार्फत गृह श्रमिको आवाज, माग, चुनौति र समस्या सामाधानका लागि आवाज बुलन्द गर्ने अभ्यासका लागि सम्मेलनमा जुटेको बताउनुभयो । 

माटो, काठ, ढुङ्गा, ढाका, बाँस, मकैका खोस्टा र पराललागायतका कच्चा पदार्थबाट परम्परागतरुपमा विभिन्न सामानको उत्पादन, निर्माण तथा हाल विद्युतीय र चिकित्साजन्य सामग्रीसमेत उत्पादन गृह श्रमिकले गर्दै आएका छन् । साथै पोते बुन्ने, दुबोको माला बुन्ने, काठका बुट्टा, इम्ब्रोइडरी, साना खाजा घर सञ्चालन, गलैंचा बुन्ने, अल्लो र ढाका बुन्ने काम गर्दै गृह श्रमिकले आर्थिक टेवा पुर्याउँदै आएका छन् ।