• ६ जेठ २०८१, आइतबार

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला

नेपालकाे लगातार दोस्रो जित, फाइनल नजिक

blog

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले हङकङलाई छ विकेटले हराएर लगातार दोस्रो जित ।

काठमाडौं, कात्तिक २ गते । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले बिहीबार हङकङलाई छ विकेटले हराएर लगातार दोस्रो जित हात पारेको छ ।

विश्वकप टी–२० छनोटको तयारीअनुरूप यो शृङ्खला भइरहेको छ । नेपालले एक दिनअघि पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो । यस नतिजासँगै नेपाल फाइनल नजिक पुगेको छ । नेपालले अब शनिबार पुनः हङकङ र सोमबार युएईविरुद्ध खेल्नेछ । तीनै टिमले एकअर्काविरुद्ध दुई पटक खेलेपछि शीर्ष दुई टिमबिच अक्टोबर २७ मा फाइनल हुनेछ ।

मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टिम हङकङ १९.३ ओभरमा ९४ रनमै अलआउट भएको थियो । नेपालले सामान्य लक्ष्य १३.५ ओभरमा नै चार विकेटको क्षतिमा ९९ रन बनाएर हासिल गर्‍यो ।

कप्तान रोहितले छक्का प्रहार गरी खेल समाप्त पार्नुभयो । एक दिनअघि रोहितले युएईविरुद्धको खेलमा पनि विजयी चौकार प्रहार गर्नुभएको थियो । रोहित २० बलमा दुई छक्का र एक चौकासहित २५ रन बनाएर अविजित रहनुभयो । रोहितसँगै अलराउन्डर गुलसन झा पाँच बलमा दुई छक्कासहित १५ रन बनाएर आउट हुनुभएन । प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सबैभन्दा बढी ४२ रन बनाउनुभयो । ३४ बलको सामना गर्ने आसिफको पालिमा छ चौका सामेल थियो ।

नेपालका अन्य ब्याट्सम्यानमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल आठ रन, कुशल मल्ल एक रन र सन्दीप जोरा तीन रनमा पवेलियन फर्कनुभयो । हङकङका बलर एहसान खानले चार ओभरमा मात्र दस रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । यासिम मुर्तजाको भागमा पनि एक विकेट पर्‍यो ।


करण म्यान अफ दि म्याच

यसअघि, हङकङको पालि ध्वस्त पार्ने काम तेज बलर करण केसीले गर्नुभएको थियो । करणले चार ओभरमा मात्र १५ रन खर्चेर चार विकेट लिनुभयो । नेपालका तेज बलरहरूले मिलेर कुल आठ विकेट लिए । सोमपाल कामी र अविनाश बोहराले दुई–दुई विकेट लिएर करणलाई उचित साथ दिनुभएको थियो । स्पीनरद्वय कुशल मल्ल र मौसम ढकालले पनि एक–एक विकेट लिनुभयो । सो खेलका करण केसी म्यान अफ दि म्याच बन्नुभयो ।

योजनाअनुरूप खेल

नेपालका कप्तान रोहितले सबै योजनाअनुसार भइरहेको र सबै बलरहरूले राम्रो बलिङ गरिरहेकोले खेल जित्न सहज भइरहेको बताउनुभयो । यसैगरी, हङकङका कप्तान निजाकत खानले ब्याटिङमा पावर प्लेमा चार विकेट गुमाएर खराब सुरुआत गर्नु नै हारको कारण भएको  र बाँकी खेलमा बलियो पुनरागमन गर्ने बताउनुभयो । केही महिनापछि हङकङको टिम खेल्दै गरेकोले पनि बेफाइदा भएको बताउनुभयो ।