लीलाधर वली
घोराही, कात्तिक २ गते । नेपाली कांग्रेस राष्ट्रियसभा मुख्य सचेतक अनिता देवकोटाले सामाजिक स्वच्छता आजको आवश्यकता रहेको बताउनुुभएको छ ।
विजयादशमी, तिहार र छठ पर्वको अवसरमा स्वच्छ नेपालले घोराहीमा आयोजना गरेको शुुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्य सचेतक देवकोटाले चाडपर्वका नाममा पछिल्लो समय समाजमा विकृति पैदा हुँदै गइरहेकाले त्यसप्रति सचेत हुनुपर्ने बताउनुभएको हो ।
उहाँले सामाजिक स्वच्छता र संरचनासमेत बिग्रिँदै गइरहेकाले मानिसहरुमा सामाजिक स्वच्छता आजको आवश्यकता भन्दै भन्नुभयो, ‘‘चाडपर्वको नाममा देखासिकी बढेको छ । यस्ले समाजमा विकृति पैदा गर्ने भएकाले नागरिकहरु सचेत हुनु आवश्यक छ ।’’
स्वच्छ नेपालकी अध्यक्ष बिन्दु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा देवकोटाले चाडपर्वका नाममा नेपाली समाज भड्किलो बन्दै गइरहेकाले त्यसलाई रोक्न आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले नेपाली समाजको मौलिक पर्व र परम्पराहरु विस्तारै फेरिँदै गइरहेको भन्दै आफ्नो मौलिकता संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । आफ्नो मौलिक पर्व र परम्परा फेरिँदा नेपालीपन विस्तारै ओझेलमा पर्ने भएकाले नयाँ पुस्ताहरु त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले चाडपर्वले सामाजिक सद्भावलाई जोड्दै हरेक धर्म संस्कृति र परम्पराबिच सद्भाव कायम राख्नुुपर्ने बताउनुुभएको थियो ।