• २० कात्तिक २०८१, मङ्गलबार

बालश्रममा संलग्न बालबालिकाको अनुभव र विचार सङ्कलन हुँदै

blog

तस्बिर : कविता थापा

काठमाडौँ, कात्तिक १ गते । विज्ञको सुनुवाइ परियोजना अन्तरगत नेपाल र पाकिस्तानका बालश्रमको क्षेत्रमा संलग्न बालबालिकाको अनुभव र विचार सङ्कलन गर्ने कार्य भइरहेको छ । आसमान नेपालले बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूसँग सहकार्य गरी नेपाली बाल श्रमिकको अनुभव सङ्कलनका लागि नेतृत्व गरिरहेको छ । 

यही सन्दर्भमा आसमान नेपालद्वारा आयोजित कार्यक्रममा बाल अधिकार अभियन्ता एवम् राष्ट्रिय बालअधिकार परिषद्का पूर्व निर्देशक मिलन धरेलले यस परियोजनामा बालबालिकाले व्यक्त गरेका विचार र अनुभवबारे चर्चा गर्नुभएको हो । उहाँले नेपाली र पाकिस्तानी बालबालिकाको अनुभवमा बालश्रममा आउनुको मुख्य कारण बुवा, आमा, भाइबहिनीलगायत परिवारको जिम्मेवारी उठाउनु हो भन्ने साझा धारणा व्यक्त गरेको पाइनुले बालबालिकाले परिवारको जिम्मेवारी बोध गरेको बताउनुभयो ।

“विशेष गरी गरिबीका कारण बालबालिकाले काम गर्नुपरेको भनेर बहस भए पनि उहाँहरूले गरिबीबारे खासै चर्चा नगरी मैले मेरो परिवारलाई काम गरेर सहयोग गर्नुपर्छ भन्ने मान्यता राखेको पाइयो,”उहाँले भन्नुभयो । अधिकारकर्मी धरेलले यस अध्ययनमा नेपालका ३६४ जना र पाकिस्तानका ४०२ जना बालबालिका संलग्न रहेको र विभिन्न चरणमा कार्यशालाको आयोजना गर्ने र चिठ्ठी लेख्ने, चित्र बनाउनेलगायतका प्रयोगात्मक अभ्यास गरेर बालश्रममा आउनुको कारण खोजिएको बताउनुभयो ।

उहाँले विश्वव्यापीरुपमै बालश्रम व्याप्त रहेकोमा सो परियोजना अन्तरगत नेपाल र पाकिस्तानका बालश्रममा संलग्न बालबालिकाको विचार लिने क्रममा बालबालिकाले सबै काम जोखिम र गाह्रो नमानेको, परिवारको सहयोगका लागि पढ्दै कमाउँदै गर्न पाउनुपर्छ भन्ने विचार राखेको सर्वेक्षणले देखाएको बताउनुभयो ।

आसमान नेपालका कार्यक्रम व्यवस्थापक मणिराम आचार्यले सन् २०२१ देखि सन् २०२४ सम्म सञ्चालन गरिने यस परियोजनामा संलग्न बालबालिकाले हालसम्म व्यक्त गरेका धारणा-विचारलाई बालअधिकारकर्मी मिलन धरेललाई अध्ययन र संक्षिपीकरणको जिम्मेवारी दिइएको बताउनुभयो । उहाँले यस परियोजनामा विज्ञको रूपमा वयस्क वा अन्यलाई नियुक्त नगरी बालश्रमिकसँगै रहेर यस क्षेत्रमा संलग्न हुनुको वास्तविक कारण खोज्ने र समस्या समाधानका लागि विचार, धारणा लिने र भावना बुझ्ने अभ्यास गरिएको बताउनुभयो ।     

आसमान नेपालका परियोजना संयोजक दीपेन्द्र तिवारीले बालश्रमले पार्ने नकारात्मक असर र बालश्रम न्यूनीकरणका लागि नीतिगत सुधारका लागि बालश्रमिककै विचार र धारणा सङ्कलन गर्ने क्रममा बालश्रमिकलाई नै विज्ञको रूपमा प्रस्तुत गरिएको बताउनुभयो । नेपाल ट्रेड युनियन (जिफन्ट)का  सचिव बेनुमाया घलेले यस परियोजनाको निचोडले बालश्रम निषेध नगरी नयाँ सिरा-दृष्टिबाट हेर्नुपर्ने सन्देश मिलेको बताउनुभयो । उहाँले बालश्रमिक वयस्क हुँदा पनि श्रम शोषणमा परेको छ कि छैन भनेर अनुगमन पनि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

प्राकृतिक विपत्, परिवारको विखण्डन, गरिबीलगायतका कारण बालबालिकाहरू घरेलु श्रम, ग्यारेज, इट्टाभट्टा, पत्रिका बेच्ने, सडक छेउमा खानेकुरा, फूल, बेलुन, पानी, कलम बेच्ने काममा संलग्न हुन पुग्ने गरेका छन् । सो अवसरमा यस परियोजनामा संलग्न बालबालिका र सरोकारवाला संस्थाका प्रतिनिधिले बालश्रमको क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधारका लागि सुझाव दिनुभएको थियो ।