• ११ पुस २०८१, बिहिबार

‘स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाको नियमित अनुगमन गरिरहेका छौँ’

‘बिमाको दायरा बढाएर पाँच लाख पुर्‍याउन सम्भव छ’

blog

पत्रकार सम्मेलनमा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला ।

काठमाडौँ, कात्तिक २० गते। स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख पुर्‍याउने प्रस्ताव सम्भव भएको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताउनुभएको छ। 

 आफ्नो चार वर्षे कार्यकालको कार्यविवरण सार्वजनिक गर्दै डा. बसौलाले यस्तो बताउनु भएको हो।  डा. बसौलाका अनुसार स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बीमाको दायरा बढाएर पाँच लाख पुर्‍याउने घोषण गरेसँगै मन्त्रालयले बोर्ड समक्ष रायको लागि पत्र पठाएको थियो।  

उहाँले स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिएको बताउनुभएको छ। आगामी मङ्सिर २५ गते आफ्नो चार वर्षे कार्यकाल पूरा हुनलागेको सन्दर्भमा आज आयोजित प्रगति विवरण सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा स्वास्थ्य बिमा राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन बिमा दर्ता तथा नवीकरण गर्नसक्ने व्यवस्था लागू गर्न सम्झौता गरिएको बताउनुभयो।

कार्यकारी निर्देशक डा. बसौलाले स्वास्थ्य बिमा कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो। उहाँले बिमा दाबी भुक्तानीमा समस्या भए पनि ऐन तथा कार्यविधि मै रहेर भुक्तानी गरिने बताउनुहुँदै हालको तीन महिनाको अन्तरमा भुक्तानी भइरहेको जानकारी दिनुभयो।

स्वास्थ्य बिमालाई दिगो बनाउन गरिब तथा विपन्न परिवारको योगदान रकम सरकारले बेहोरीदिने प्रयोजनका लागि गरिब परिवार परिचयपत्र यथाशीघ्र वितरण गर्ने, सूचना प्रविधिलाई स्तरोन्नति गरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ९एआइ० का माध्यमबाट सञ्चालन गर्नुपर्ने, स्वास्थ्य बिमाको दायरालाई फराकिलो बनाउनुपर्ने, बिमामा आबद्ध नभइ सरकारबाट उपलब्ध गराइने कुनै पनि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध नगराउने गरी निःशुल्क स्वास्थ्य सेवालाई बिमासँग आबद्ध गर्ने सुझाव दिनुभयो।

“यो कार्यक्रम गरिब तथा विपन्न नागरिकको उपचार गर्ने निकै सहयोगी बनेको छ। हामी अहिले बिमा कार्यक्रमको सुरुआती चरणमा छौँ। विकसित देशहरूमा स्मार्ट कार्डबाट सेवा लिन पाइन्छ, हाम्रोमा पनि भविष्यमा त्यो लागू हुन्छ होला”, कार्यकारी निर्देशक डा बसौलाले भन्नुभयो।

विसं २०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरुआत भएको यो कार्यक्रममा जनसङ्ख्याअनुसार ३० प्रतिशत आबद्ध भएका छन्भने नवीकरण दर ७९ प्रतिशत रहेको छ।