• १० मंसिर २०८१, सोमबार

गण्डकी प्रदेश सांसद मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

blog

दीपक मनाङे । फाइल तस्बिर

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक २० गते । सर्वोच्च  अदालतले गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । 

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो । मनाङे मनाङ (ख) बाट दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित हुनुभएको थियो । 

यसअघि, उच्च अदालत पाटनले उहाँलाई दोषी ठहर गरेकोमा उच्चको फैसलाविरुद्ध सर्वोच्चमा परेको निवेदनमा सर्वोच्चले दाबी नपुग्ने ठहर गर्दै उच्चकै फैसला सदर गरेको हो । उच्चले उहाँलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । फैसला अनुसार मनाङेले अब तीन वर्ष जेल बस्नुपर्छ । यसअघि नै ज्यान मार्ने उद्योगको अभियोगमा उहाँ दुई वर्ष जेल बसिसक्नुभएको छ । 

सर्वोच्चको फैसलापछि गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले आफूले यसबारे कानुनविद्सँग परामर्श गर्ने प्रतिक्रिया दिनुभएको छ । “यो अदालतको फैसलाको कुरा हो, कानुनले जे भन्छ, त्यही हुन्छ । कानुनबमोजिम के हुन्छ भन्ने कानुनविद्सँग सल्लाह, परामर्श गर्छु,” उहाँले भन्नुभयो । 

संविधानको धारा १७८ मा प्रदेशसभा सदस्य बन्न नैतिक पतन देखिने फौजदारी कसुर सजाय नपाएको हुनुपर्ने व्यवस्था छ।