• १२ मंसिर २०८१, बुधबार

भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

blog

फक्ताङ्लुङ–२ खेजेनिममा भत्ता रकम वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक १ गते । 
ताप्लेजुङमा घर–घरमा पुगेर ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै उनीहरूको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा ज्येष्ठ नागरिकसहितका लाभग्राहीलाई घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिँदै आएको हो ।

जिल्लाकै दुर्गत तथा विकट भौगोलिक बनावट रहेको फक्ताङ्लुङ गाउँपालिकाका वडाहरूले लाभग्राहीको घर–घरमा पुगेर भत्ता रकम वितरण गरिरहेको छ । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा सामाजिक सुरक्षा भत्ता रकम वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्यसमेत गरिएको वडाध्यक्ष भूपेन्द्र चौलागाईँले जानकारी दिनुभयो । उहाँकाअनुसार वडाभित्रका ज्येष्ठ नागरिकसहित भत्ता पाउने २०९ जना लाभग्राहीलाई भत्ता रकम वितरण गरिएको छ भने उहाँहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको ।

यस्तै, वडा ४ इखाबुमा पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई घर–घरमा भत्ता रकम वितरणसँगै स्वास्थ्य परीक्षण गरिएको वडाध्यक्ष महेश लाबुङ लिम्बूले जानकारी दिनुभयो । यता सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनमा पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै उहाँहरूको स्वास्थ्य परीक्षण गरिएको वडाध्यक्ष अमरबहादुर इधिङ्गो लिम्बूले बताउनुभयो ।

उहाँका अनुसार वडाभित्रका ७५ वर्षमाथि उमेरका ५८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । पूर्णरुपमा शारीरिक अशक्त अर्थात् अपाङ्गता भएका पाँचजनालाई पनि सम्मान साथै उहाँहरूको स्वास्थ्य परीक्षण गरिएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक तथा अपाङ्ग पुरुषलाई न्यानो कपडा ज्याकेट र महिलालाई स्वेटर वितरण गरी सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

उता मैवाखोला गाउँपालिकाले हरेक महिनामा एकपटक ज्येष्ठ नागरिकको घर–घरमा पुगेर स्वास्थ्य परीक्षण गर्दै आएको छ । मेरिङ्देन गाउँपालिका–३ ले पनि केही दिन अघि ज्येष्ठ नागरिकलाई भत्ता रकम वितरणसँगै सम्मान गरेको छ ।

यसैगरी, फुङ्लिङ नगरपालिका–८ दोखुले पनि घुम्ती शिविर नै सञ्चालन गरी घरघरमा पुगेर वडावासी नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार गएको शनिबार सुरु भई बुधबार सम्पन्न भएको पाँच दिने शिविरमार्फत ४०३ तीनजनाको स्वास्थ्य परीक्षण गरिएको छ । ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा वडाका नागरिकको आँखा परीक्षणसमेत गरिएको सुनुवारले जानकारी दिनुभयो ।

दोखुमा आँखा परीक्षण गरिएका ३८१ मध्ये २५ जना मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने अवस्थाका रोगी फेला परेका आँखा उपचार केन्द्रका प्राविधिक कर्मचारी काजी थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य एक सय जनामा चस्मा लगाउनुपर्नेगरी आँखामा समस्या देखिएको र उनीहरूलाई केन्द्रका तर्फबाट चस्मा निःशुल्क वितरणसमेत गरिएको छ ।