• २२ वैशाख २०८१, शनिबार

विश्वकप फुटबल छनोट : लाओसलाई हराएर नेपाल दोस्रो चरणमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३० गते । मनिष डाँगीको गोल निर्णायक बनेपछि नेपालले मङ्गलबार लाओसलाई उसकै घरेलु मैदानमा १–० ले हराएर फिफा विश्वकप फुटबल छनोट २०२६ को पहिलो चरण पार गर्न सफल भएको छ ।

लाओसको न्यु लाओस नेसनल स्टेडियममा मनिषले खेलको ५२ औँ मिनेटमा गरेको गोलले नेपाललाई विश्वकप फुटबल छनोटको दोस्रो चरणमा पुगाएको हो । पाँच दिनअघि दशरथ रङ्गशालामा भएको पहिलो लेगमा लाओससँग १–१ ले बराबरीमा रोकिएपछि नेपालको दोस्रो चरण प्रवेश कठिन देखिएको थियो । तर नेपाल समग्रमा २–१ गोलको नतिजासहित अगाडि बढ्न सफलभयो ।

घरेलु टिम लाओसले खेलको पहिलो हाफमा दबाब बनाएपछि नेपाल समस्यामा देखिन्थ्यो । तर मध्यान्तरपछिको खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्यो । उत्तरार्धको सातौँ मिनेटमा नै अञ्जन विष्टले डिबक्सभित्रबाटै पास दिएको बललाई मनिषले गोलपोस्टमा छिराएर नेपाललाई अगाडि पार्नुभयो । सोही गोलले खेलको छिनोफानो गर्यो । गत चैतमा नेपालमा भएको प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले लाओसलाई २–१ ले हराउँदा पनि मनिषले निर्णायक गोल गर्नुभएको थियो ।