शैलेन्द्र रोकाया
बझाङ, असोज ३० गते । हिन्दुहरुको महान चाड दसैं सुरु भएसँगै जिल्लाको उत्तरी भेगमा पर्ने साइपाल गाउँपालिकाबाट झण्डै चार करोड रुपियाँ मूल्य बराबरका भेडा बिक्रीका लागि पोखरा लगिएका छन् ।
भेडा उत्पादनका लागि जिल्लाको महत्वपूर्ण क्षेत्र मानिने साइपाल गाउँपालिकाबाट मात्र झण्डै २२ ट्रक भेडा बिक्रीका लागि पोखरा लगिएको हो । खाद्यान्न उत्पादनका हिसावले सबैभन्दा कम उत्पादन हुने साइपाल गाउँपालिकाका स्थानीयको मुख्य आम्दानीको स्रोत भेडापालन तथा जडीबुटी हो ।
पोखरा, पाल्पा तथा स्याङ्जा जिल्लामा उच्च लेकाली भेगमा पाइने भेडा तथा च्याङ्ग्राको माग वर्षेनी बढेपछि यस क्षेत्रका व्यापारीले ट्रकमा लोड गरेर बिक्रीका लागि दसैं सुरु भएसँगै पोखरामा बिक्रीका लागि लगिने गरेका छन् । साइपाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीका अनुसार प्रतिट्रकमा ६० वटा भेडाका हिसाबले साइपाल गाउँपालिकाबाट मात्र २२ ट्रकमा झण्डै १४ सय भेडा पोखरा निर्यात भएको बताउनुभयो ।
उहाँले प्रतिभेडा ३५ देखि ५० हजारसम्म बिक्री हुने हुँदा स्थानीय ब्यापारीलाई मनग्य आम्दानी हुने भएकाले यसतर्फ भेडा व्यवसायीको आकर्षण बढेको समेत बताउनुभयो । सरदरमा हिसाब गर्दा झण्डै चार करोडभन्दा बढी मूल्य बराबरका भेडा यहाँबाट निर्यात गरिएको छ ।
सरकारले स्थानीयको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको भेडापालन व्यवसायमा कुनै ध्यान नदिएको भए पनि स्थानीयले भने मनग्य आम्दानी हुने भएपछि भेडा व्यवसायमा आकर्षित भएका छन् । साइपाल गाउँपालिकाका पूर्व अध्यक्ष तथा भेडा व्यवसायी राजेन्द्र धामी पनि दुई ट्रक भेडा लिएर पोखरा पुग्नुभएको छ ।
विगतका वर्षमा पनि बझाङबाट पोखरामा भेडा लिएर व्यापार गर्दै आउनुभएका जसबिर बोहराले व्यापार अलि खर्चिलो भए पनि आफूले दुःख गरेअनुसारको आम्दानी भएको बताउनुभयो । उहाँले बझाङको उच्च लेकाली भेगमा चरेको भेडाको दिन प्रतिदिन माग बढिरहेको बताउनुभयो ।
सदरमुकाम चैनपुरबाट समेत तीन दिनको पैदल दूरीमा रहेको साइपाल गाउँपालिकामा गाडी पुगेको छैन । सामान तथा खाद्य ढुवानीका लागि भेडा र खच्चर प्रयोग गरिन्छ ।