• २४ वैशाख २०८१, सोमबार

सुरक्षाको अनुभूति हुनेगरी काम गर्न आग्रह

blog

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव । तिस्बर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, असोज ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनतालाई शान्ति सुरक्षाको अनुभूति हुनेगरी कामकाज गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ । 

६८ औं प्रहरी दिवसको अवसरमा मङ्गलबार प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशले जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनताको प्रहरीप्रतिको अटुट भरोसा र विश्वासलाई कायम राखी प्रहरीले इमानदारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।

विगतमा मधेश प्रदेशमा आएको बाढी पहिरोसहितका आपतविपतमा प्रहरीले गरेको कामकाजको प्रशंसा गर्दै मुख्यमन्त्री यादवले आपतविपतको समयका लागि सदैव तयार भएर बस्नुपर्ने बताउनुभयो । उहाँले अपराधीले अपराध गर्दा विभिन्नखालका आधुनिक प्रविधिको प्रयोग गर्ने गरिएको भन्दै प्रहरी अनुसन्धानका लागि प्रहरीलाई प्रविधिसँगको पहुँच बढाउनु र्नेमा जोड दिनुभयो । 

उहाँले प्रदेशमा शान्ति र अमनचयन कायम गर्न प्रदेश सरकारको क्षमताले भ्याए जतिको सहयोग गर्न प्रदेश सरकार तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीको काम एकदम गाह्रो छ । चाडपर्वको समयमा सबै विदामा रहेका बेला पनि नागरिकको सुरक्षाका लागि प्रहरी अहोरात्र खटिरहेको हुन्छ । निःस्वार्थ सेवा गर्ने प्रहरी जवानलाई सलाम छ ।”

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहमद समीमले नेपालको संविधान र कानुनको परिधिमा रहेर मुस्कानसहितको सेवा दिन नेपाल प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले कामकाजका वेला विभिन्नखालका दवाब आउन सक्ने भन्दै कसैको दवाब प्रभावमा नपरी नेपाल प्रहरीले इमानदारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो । 


प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले नेपाल प्रहरीको गौरवशाली इतिहासबारेमा जानकारी दिंदै विविध आरोह अवरोहबीच कर्तव्यपथमा सहिद भएका प्रहरीप्रति श्रद्धाञ्जलि एवम् परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । सहिद प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साह, प्रमुख सचिव दिनेश घिमिरेसहित सुरक्षा निकायका उच्च सुरक्षा अधिकारीको उपस्थिति थियो ।