धादिङ समाचारदाता
धादिङ, असोज ३० गते । धादिङको नीलकण्ठ नगरपालिका–३, बिचबजार चोकमा कलात्मक ढुङ्गेधारा निर्माण गरी राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक राखिएको छ । उक्त धारा र सालिक नीलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले अनावरण गर्नुभयो । राष्ट्रिय विभूतिको सम्मान र जनमनमा राष्ट्रिय विभूति साख्वा स्थापित गराउने उद्देश्यले जिल्ला सदरमुकाम धादिङबेँसी बिचबजारको चौतारोमा सालिक स्थापना गरिएको बिचबजार टोल सुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताउनुभयो ।
चौतारोमा विश्रामस्थल र गणेश मन्दिर पनि पुनर्निर्माण गरिएको छ । गाउँ गाउँबाट सदरमुकाम आइपुगेकाहरू बस्ने चौतारो परिसरमा बनेको सालिक, ढुङ्गेधारा र मन्दिरले यो स्थान अहिले निकै सुन्दर बनेको छ । स्थानीय दाताबाट सङ्कलन भएको तीन लाख ७५ हजार, बिचबजार टोल सुधार समितिबाट एक लाख ९४ हजार तीन सय गरी कुल पाँच लाख ६९ हजार चार सय रुपियाँ लगानीमा सालिक, ढुङ्गेधारा र विश्रामस्थल निर्माण गरिएको हो ।