बनेपा समाचारदाता
काभ्रेपलाञ्चोक, असोज ३० गते । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले दसैँतिहारलगायतका चाडपर्व लक्षित गरेर ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारेको छ । चाडपर्व सुरक्षित बनाउन प्रहरीले प्रहरी उपरीक्षकको कमान्डमा जिल्ला कमान्ड पोस्ट, प्रहरी नायब उपरीक्षकको कमान्डमा जिल्ला रिजर्भ फोर्स, प्रहरी निरीक्षकको कमान्डमा स्ट्राइकिङ, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षकको कमान्डमा क्युआरटी तयार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले चाडपर्वको समयमा राजमार्गमा हुन सक्ने क्रियाकलाप रोक्न बिपी राजमार्गको मङ्गलटार र अरनिको राजमार्गको पाँचखालको लामिडाँडामा प्रहरी निरीक्षकको कमान्डमा दस/दस जना प्रहरीको बेस राखिने जानकारी दिनुभयो ।
यस्तै धुलिखेलस्थित बिपी चोक तथा नौ स्थानमा २७ ट्राफिक प्रहरीसहित चेकिङ टोली परिचालन, पाँच स्थानमा २० जनाको मापसे चेकिङ, जिल्लाका ३८ वटै प्रहरी एकाइबाट ७७ जना प्रहरीलाई पैदल गस्तीमा खटाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
काभ्रे जिल्लाका संवेदनशील १५ स्थानमा ३३ जना प्रहरीलाई पिकटे ड्युटी, अरनिको राजमार्ग र बिपी राजमार्गको संवेदनशील १२ स्थानमा ३६ जना प्रहरीलाई राजमार्ग गस्तीमा खटाइएको छ । बसपार्क, टिकट काउन्टर, बस बिसौनीलगायतका स्थानमा यात्रु सहायता कक्षका लागि २७ जना, जिल्लाका महìवपूर्ण शक्तिपीठको सुरक्षाका लागि ३० जना, बैङ्क तथा वित्तीय सङ्घसंस्थाको सुरक्षाका लागि २६ स्थानमा ५० जना, बजार अनुगमनका लागि १० जना, लामो दुरीका सवारीसाधनमा यात्रुको सुरक्षाका लागि २२ जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीले विशिष्ट व्यक्तिको सुरक्षा, अवैध घरेलु मदिरा नियन्त्रण, झैझगडा नियन्त्रणका लागि प्रहरी परिचालन गरेको छ । चाडपर्वलाई सुरक्षित र भयरहित बनाउन काभ्रे जिल्लामा कुल ७०६ जना प्रहरी जनशक्ति परिचालन हुने प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।