ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, असोज ३० गते । मैवाखोला गाउँपालिकास्थित नेरुवा खोलामा आएको बाढी र पहिरोले अवरुद्ध बनेको साँघु सडक तीन महिनापछि खुलेको छ । गाउँपालिकासँग भएको जेसिबी प्रयोग गरेर पहिरो पन्छाइएपछि साँघु सडक खुलेको हो ।
बाढी र पहिरोले क्षतिग्रस्त ग्रामीण सडक खुलाउन छ दिन निरन्तर जेसिबी प्रयोग गरिएको थियो । क्षतिग्रस्त सडकको मर्मत तथा पहिरो पन्छाउने कार्य सम्पन्न भएसँगै शनिबार दिउँसोदेखि सडक सुचारु भएको गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिका–३ र ४ साँघु टोल जोड्ने उक्त सडकखण्ड खुलेपछि शनिबारदेखि नै यातायातका साधन सञ्चालनमा आएका छन् । नजिकिएको दसैँ र तिहारजस्ता चाडपर्वमा सर्वसाधारण यात्रुको यात्रालाई सहज बनाउने उद्देश्यसहित अवरुद्ध सडक खुलाउन गाउँपालिका लागि परेको पनि उहाँको भनाइ छ ।
यस्तै यातायातका साधन सञ्चालनमा कठिनाइ हुने गरी क्षति तथा अवरुद्ध भएका गाउँपालिकाभित्रका अन्य सडकको मर्मत र पुनः निर्माण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाका सबै वडालाई जोड्ने मुख्य सडक पहिरोका कारण अवरुद्ध बनेका र चाडपर्वलाई लक्षित गरी सहज रूपमा यातायातका साधान सञ्चालन हुने गरी अवरुद्ध सडकको मर्मत तथा पुनर्निर्माणको कार्य गर्ने योजना बनाएरै काम सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
हालसम्म सञ्चालनमा नआएका बाँकी सडक पनि मर्मतसम्भार गरेर केही दिनभित्रै यातायात नियमित गरिने गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी लिम्बूले बताउनुभयो । गत असार २ गतेको भीषण वर्षापछि गएको बाढीपहिरोका कारण मैवाखोला गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन् ।