• २२ असार २०८१, शनिबार

सेवा प्रवाहमा तदारुकता ल्याउन निर्देशन

blog

धर्बेन्द्र झा-स्मृति मिश्र 

महेन्द्रनगर (धनुषा), असोज ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार बिहान करिब १० बजे प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री यादव पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला पुग्नुभएको हो । निरीक्षणका व्रmममा उहाँले सेवा प्रवाहका बारेमा प्रयोगशालाका प्रमुख र सेवाग्राहीहरूसँग जानकारी लिनुभएको थियो । 

प्रयोगशालामा एउटा मात्रै रसिद काट्ने काउन्टर भएकाले लामो समयसम्म सेवाग्राहीलाई कुर्नुपरेको गुनासो स्थानीय रामप्रसाद साहलगायतका केही सेवाग्राहीले मुख्यमन्त्रीसमक्ष गर्नुभयो । सेवाग्राहीको गुनासो सुनेपछि मुख्यमन्त्री यादवले काउन्टरसम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्रलाई निर्देशन दिनुभयो ।     

सहुलियत दरमा सेवाग्राहीको गुणस्तरीय जाँच हुने उद्देश्यसहित स्थापित जनस्वास्थ्य प्रयोगशालाको सेवा प्रवाहमा तदारुकता ल्याएर काम छिटो छरितो हुनु पर्छ,” मुख्यमन्त्री यादवले निर्देशन दिनुभयो, “क्षयरोग, मुटु, लिभर, मिर्गौला जस्ता रोगका बिरामीहरूको जाँच छिट्टै गरी रिपोर्ट दिने वातावरण मिलाउनूस् ।” मधेश प्रदेशका पूर्वी र पश्चिमी भागमा पनि स्वास्थ्य प्रयोगशाला बनाउने योजना प्रदेश सरकारको रहेको उहाँले बताउनुभयो । 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सुलभ दरमा ल्याबसम्बन्धी सेवा प्रवाह गर्दै आएको छ । मधेश प्रदेश सरकारको लगानीमा सञ्चालित प्रयोगशालामा दैनिक सयौँको सङ्ख्यामा बिरामी जाँच गराउन आउने गरेको प्रयोगशालाका प्रमुख डा. मिश्रले बताउनुभयो ।