बुलबुले समाचारदाता
सुर्खेत, असोज ३० गते । सुर्खेत बसपार्कमा दसैँ मान्न घर फर्किनेको भिड बढेको छ । घटस्थापनादेखि बसपार्कमा चहलपहल बढेको हो । शिक्षण संस्था बन्द भएकाले धेरैजसो विद्यार्थी यसअघि नै आफ्नो गाउँघर पुगिसकेका छन् । रोजगारीका लागि भारत गएका धमाधम गाउँ फर्किने क्रम बढेको छ ।
बसपार्कभित्र र बाहिर सडकमा पनि यात्रुहरू ठुला झोला र सुटकेस लिएर गाडी पर्खिरहेका थिए । सुर्खेतमा जागिर गर्ने विपना थापा दैलेखको भैरवी गाउँपालिकास्थित घर जान आफ्नो गाडीको समय पर्खेर बसिरहनुभएको थियो । शनिबार टिकट नपाएर घर जान नसकिएको थापाले बताउनुभयो । उहाँका अनुसार टिकट पाउनै सकस हुने गरेको छ । टिकट लिनकै लागि लाइन बस्नु परेको थापाले बताउनुभयो ।
सुर्खेतमा बसेर पढ्दै गरेकी लक्ष्मी थापा दाजुभाउजूसँग कालीकोट जान सामान लिएर बसपार्कमा बस्नुभएको थियो । आइतबार बिहान ९ बजे बसपार्कमा भेटिनुभएकी उहाँले सिट सुरक्षित गर्न बिहान ६ बजे नै बसपार्कमा आइपुगेको जानकारी दिनुभयो ।
अध्ययन, जागिर र व्यवसायका लागि जुम्ला, कालीकोट, दैलेख, मुगु, डोल्पा, हुम्ला, रुकुमपश्चिम, सल्यान, जाजरकोटलगायतका जिल्लाका मानिस सुर्खेतमा रहेका छन् । रोजगारीका लागि भारत र अध्ययनका लागि विभिन्न जिल्लामा पुगेका विद्यार्थीको घुइँचो पनि उत्तिकै देखिन्छ । बसपार्कमा विशेष गरी दैलेख र कालीकोटको टिकट काउन्टरमा यात्रुको भिड बढी नै हुने गरेको छ ।
सबैभन्दा बढी दैलेख जाने यात्रु हुने गर्छन् । सुर्खेतबाट दैलेखका विभिन्न ठाउँका लागि नियमित रूपमा दैनिक २८ वटा बस छुट्ने गर्दछ तर दसैँको बेलामा थप गाडीको व्यवस्था गरिएको संयुक्त यातायातका संयोजक नारायण चपाईंले जानकारी दिनुभयो । “शनिबार र आइतबारदेखि घर जाने यात्रुको भिड छ,” उहाँले भन्नुभयो, “नियमित क्युभन्दाबाहेक प्रत्येक रुटमा १०/१२ वटा गाडी थप भएको छ । आइतबार साँझसम्म ५० वटा जति गाडी थप्नुपर्ने हुन सक्छ ।”
दैलेखमा दैनिक रूपमा २८ वटा बस छुट्ने गरेका छन् तर आइतबार बिहान ९ बजेसम्म करिब ३८ वटा साना ठूला गाडी गइसकेको चपार्इंले जानकारी दिनुभयो । कर्णालीका १० वटै जिल्लामा प्रत्येक रुटमा नियमित क्युभन्दा १०/१२ गाडी थप गरिएको उहाँको भनाइ छ ।
सार्वजनिकसँगै निजी गाडीको चाप पनि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका ट्राफिक प्रहरी प्रमुख देवेन्द्रसिंह बुढाथोकीले केही दिनयता सवारी चाप बढेको जानकारी दिनुभयो ।
आइतबारदेखि विभिन्न रुटमा गाडीको चाप बढेको छ । शनिबार मात्र कर्णाली राजमार्गमा नियमितभन्दा करिब ३० प्रतिशत बढी गाडी गुडेका थिए । “आइतबार, सोमबारदेखि त्योभन्दा बढी चाप हुन सक्छ,” उहाँले भन्नुभयो । गाडीको चापलाई मध्यनजर गरी ठाउँ ठाउँमा चेक जाँच पनि बढाइएको बुढाथोकीले बताउनुभयो । ठाउँ ठाउँमा यात्रु सहायता कक्ष राखिएको भन्दै उहाँले अन्य समयभन्दा चेकजाँचमा कडाइ गरिएको जानकारी दिनुभयो ।