• ५ जेठ २०८१, शनिबार

बिरामी बोक्दै अस्पताल धाउँदै

blog

हुम्ला समाचारदाता

हुम्ला, असोज ३० गते । कर्णाली कोरिडोरसँग सडक पहुँच नभएका ग्रामीण बस्तीका मानिस बिरामी हुँदा डोली या डोकामा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । 

खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँका स्थानीय जनक शाहीले घरमा भाउजू बिरामी भएपछि दुई घण्टा बोकेर गाउँपालिका केन्द्र याङ्चु बजारमा रहेको सामुदायिक अस्पतालमा लग्नु परेको बताउनुभयो । उहाँले गाउँमा सडक नजोडिएका कारण बिरामीलाई मानिसले बोकेर स्वास्थ्य संस्थामा लैजानुको विकल्प नभएको उल्लेख गर्नुभयो । 

चङ्खेली गाउँपालिका–५ को नेक्पा गाउँका भैबहादुर तामाङले रुखबाट लडेर घाइते भएका बिरामीलाई चार जना युवाले मिलेर आठ घण्टा बोकेर हिँड्दै गाउँपालिका केन्द्र पिप्लाङमा रहेको स्वास्थ्य चौकीमा लैजानु परेको बताउनुभयो । सो गाउँ जोड्न सडक निर्माण भइरहे पनि निर्माण पूरा नहुँदा मानिस बिरामी हुँदा बोकेर स्वास्थ्य संस्थामा लैजानु परेको छ । यस वर्ष सो गाउँबाट सात जना बिरामीलाई बोकेर गाउँपालिका केन्द्रसम्म लैजानु परेको थियो । 

ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँका जगवीर बुढाले आमा बिरामी हुँदा एक दिन पैदल बोकेर गाउँपालिका केन्द्र छप्रेलामा रहेको महिला स्वास्थ्य चौकीमा उपचार गर्न लग्नु परेको बताउनुभयो । मासपुर गाउँका लागि हालसम्म सडक निर्माण अघि बढेको छैन । तीन महिनाको अवधिमा उक्त गाउँबाट चार जना बिरामीलाई यसरी एक दिन हिँड्दै मानिसले बोकेर उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु परेको थियो । 

नाम्खा गाउँपालिका–४ को चाला गाउँका खिज्योर लामाले बुबा बिरामी भएपछि एक दिन समय लगाएर मानिसले बोकेर गाउँपालिका केन्द्र याल्वाङमा उपचार गर्न लग्नु परेको बताउनुभयो । उक्त गाउँबाट असोज महिनामा मात्र तीन जना बिरामीलाई यसरी उपचार गर्नु परेको थियो । जिल्लाका सात वटा गाउँपालिकाका एक सयभन्दा बढी गाउँमा मानिस बिरामी पर्दा बोकेर स्वास्थ्य संस्थामा लैजानुपर्ने बाध्यता छ ।