शेरबहादुर सार्की
बाजुरा, असोज ३० गते । हिउँद तथा बर्खाको समयमा खाली भएका बाजुराका अधिकांश गाउँबस्ती दसैँतिहार लागेसँगै भरिन थालेका छन् । भोको पेट पाल्न रोजगारीका लागि भारत तथा विभिन्न सहरमा गएका स्थानीयवासी यति बेला दसैँ मनाउन गृह जिल्ला बाजुरा फर्किंदै छन् ।
नेपाल–भारत सीमानाका तथा राजधानी काठमाडौँ र धनगढीबाट धमाधम घर फर्किन थालेपछि बर्खाको समयमा खाली हुँदै गएका गाउँबस्ती अहिले भरिन थालेका हुन् । बर्खाको समयमा फेरि रोजगारी गर्न भारत गए पनि दसैँतिहार मनाउन आफूहरू गाउँ फर्किएको बुढीगङ्गा नगरपालिका–१०, बदेडाका लालबहादुर सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा प्रशस्त जमिन भए पनि सिँचाइ छैन । खेती लगाउँ भने सबै सुकेर जान्छ । परिश्रम गरे अनुसारको फल मिल्दैन । भोकै बस्न सकिँदैन ।”
यति बेला दसैँ मनाउन भनेर सेठसँग (मालिक) दुई महिनाको छुट्टी मागेर घरमा आएको हुँ, त्यसपछि फेरि फर्केर भारतमा नै जाने योजना रहेको सार्कीले बताउनुभयो ।
गाउँमा रोजगारीको अवसर नमिल्दा बाजुराका अधिकांश स्थानीयले बर्खाको खेतीपाती सकाएर दसैँ खर्चको जोहो गर्न भारत जाने गर्छन् । कात्तिक–मङ्सिरमा गहुँ र असारमा धान कोदो खेती लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि कामको खोजीमा जाने गर्छन् ।
यहाँका अधिकांश स्थानीय माघमा माघी तिहार र चैत–वैशाखमा वीसु र यति बेला भने दसैँतिहार मनाउन गाउँ फर्किने गरेको त्रिवेणी नगरपालिका–५ का स्थानीय पदम बुढाले बताउनुभयो ।
दसैँतिहार मनाउँछौँ त्यसपछि फेरि कामको खोजीमा भारतमा गइहाल्छौँ, बुढाले भन्नुभयो, “यहाँका स्थानीयको यो बाध्यता अहिले नभई पहिलेका पुस्तादेखि नै चलिआएको छ ।” हुन त गाउँमै रोजगारीका धेरै सम्भावना छन् तर कृषिप्रति युवाको आकर्षण घटेको छ ।
गाउँबस्ती खाली हुने समस्या पहिलेको भन्दा अहिले बढी रहेको छ । जिल्लाका अधिकांश बस्ती पहिरोले तहसनहस पारेकाले अहिले ती बस्तीका अधिकांश स्थानीय गाउँ छोडेर धमाधम भारतमा गएर पेट पाल्न थालेपछि गाउँ रित्तिँदै गएका हुन् ।
जिल्लाका बुढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमुल, बडीमालिका हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा नगरपालिकालगायतका गाउँबस्तीका स्थानीय आर्थिक अभावकै कारण प्रदेशिन बाध्य भएका छन् ।