• २६ वैशाख २०८२, शुक्रबार

उपराष्ट्रपति यादवद्वारा विश्व हात धुने दिवसको शुभकामना

blog

काठमाडौँ, असोज २८ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विश्व हात धुने दिवस’, २०२३ को अवसरमा सम्पूर्ण नेपालीमा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सन् २००८ यता विश्वभर हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाइन्छ ।   

उहाँले शुभकामना सन्देशमार्फत साबुनपानीले हात धुँदा पखाला र निमोनियाको जोखिम कम हुनुका साथै गम्भीर रोग र अनाहकमा मृत्यु हुनबाट पनि जोगाउन सहयोग पुग्ने उल्लेख गर्नुभएको छ । साबुनपानीले हात धुँदा इन्फ्लुएन्जा र कोभिड–१९ लगायत अन्य सङ्क्रमण र भाइरसको विस्तारलाई पनि रोक्ने उहाँले बताउनुभयो ।

यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । सन् २००८ मा पहिलोपटक विश्वभर हात धुने दिवस मनाइएको थियो । जीवाणु ९ब्याक्टेरिया० र विषाणु ९भाइरस० जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो ।

साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउँदछ । खाना पकाउनुअघि र पछि, खाना खानुअघि र पछि, शौचालय गएपछि, नाक–मुख–आँखा छोएपछि, खोक्दा वा हाछयुँ गर्दा हातले छोपेपछि हात धुने स्वस्थ बानी सबैले बसाल्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले अधिकांश अवस्थामा सङ्क्रमण मानिसको हातकै माध्यमबाट हुने गरेको उल्लेख गर्दै एक व्यक्तिबाट अर्कोमा विषाणु सर्ने प्रमुख माध्यम पनि हात नै भएकाले विद्यालय, कार्यालय, सार्वजनिकस्थल, यातायात, चर्पीआदिको प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात सफा गर्नुपर्ने बताउनुभएको छ । यो दिवसलाई साबुनपानीले हातधुने बानी बसाल्ने प्रण र सङ्कल्प लिने दिवसका रूपमा सबैले लिनुपर्ने उहाँको भनाइ छ ।