• २० वैशाख २०८१, बिहिबार

भ्रष्टाचार बढ्यो : प्रतिवेदन

blog

काठमाडौँ, असोज २८ गते । नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ ।

अल्टरनेटिभ फाउन्डेसनले शनिबार यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल–२०२३’ प्रतिवेदनमा परम्परागत राजनीतिक कार्यशैली, नातावाद, परिवारवाद, लोभ र छिट्टै धनी बन्ने आकाङ्क्षालाई भ्रष्टाचारको कारण उल्लेख छ । प्रतिवेदनमा नीतिगत कमजोरी, कर्मचारीतन्त्रको ढिलासुस्ती, अख्तियारवालाको गैरजिम्मेवारीपन, ढिलो न्याय, अनुचित राजनीतिक नियुक्ति, कमजोर विधिको शासन, सांस्कृतिक प्रभाव र नागरिक जागरुकताको कमीलाई पनि भ्रष्टाचारका स्रोतका रूपमा उल्लेख गरिएको छ । फाउन्डेसनले अध्ययनलाई ‘राजनीति र भ्रष्टाचार’ र  ‘सरकार र भ्रष्टाचार’ गरी दुई भागमा विभाजन गरेको छ । एक हजार जनामा गरिएको उक्त अध्ययनमा बहुसङ्ख्यक उत्तरदाताले राजनीतिक दलले चुनावी घोषणापत्र कार्यान्वयन नगरेको बताएको पाइएको छ ।

अध्ययन प्रतिवेदनमा ७१.२ प्रतिशत उत्तरदाताले राजनीतिक दलले चुनावी घोषणापत्र लागु नगरेको तथा ७१ प्रतिशतले राजनीतिक नेताको व्यवहार र कार्यशैलीलाई उपयुक्त नमानेको उल्लेख छ । साथै ७१.७ प्रतिशतले राजनीतिक नेता भ्रष्टाचारमा मुछिएको, ६३.७ प्रतिशतले राजनीतिक पार्टीसमेत भ्रष्टाचारमा मुछिएको, ७०.८ प्रतिशतले राजनीतिक दल र नेताले समाजमा अपराधको संरक्षण गरेको र ८९.१ प्रतिशतले राजनीतिक दलमा रूपान्तरण अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । 

भ्रष्टाचारसम्बन्धी अनुभवजन्य नागरिक धारणा सर्वेक्षण, विगतका अध्ययन प्रतिवेदन र तथ्याङ्कको समीक्षा र विश्लेषण तथा सरोकारवालासँगको छलफल र अन्तव्रिर्mयालाई अध्ययन विधिका रूपमा अवलम्बन गरिएको छ । अध्ययन प्रतिवेदनको नतिजाले तीनै तहका सरकार र नागरिकलाई भ्रष्टाचारविरुद्ध गम्भीर बनाउन सहयोग पुग्ने फाउन्डेसनको दाबी छ । 

प्रतिवेदनले भ्रष्टाचारले मुलुक आक्रान्त भइरहेको अहिलेको समयमा राजनीतिक पार्टीको अग्रगामी रूपान्तरण, लोकतान्त्रिक गणतन्त्रको थप सबलीकरण र सूचना प्रविधिको अनिवार्य प्रयोगमार्फत सुशासनलाई बलियो बनाउन सके मुलुक विकास तथा राजनीति र राज्यप्रति नागरिक विश्वासमा बढोत्तरी हुने निष्कर्ष निकालेको छ । अध्ययनका संयोजक डा. जनकराज साहले नेपालमा भ्रष्टाचारको प्रतिविम्ब कस्तो छ भन्ने सन्दर्भमा जनता, सरोकारवालाको आवाजलाई सरकारसमक्ष पु¥याउन प्रतिवेदनले सहयोग पुग्ने बताउनुभयो । फाउन्डेसनका अध्यक्ष प्रकाश विकल्पले खोज अनुसन्धानकै लागि फाउन्डेसन स्थापित भए पनि मुलुकको आवश्यकता अनुसार भ्रष्टाचारसम्बन्धी तथ्याङ्क र धारणालाई प्रकाश पारेको बताउनुभयो ।