• २२ वैशाख २०८१, शनिबार

बिपीका विचार नमान्दा पार्टी कमजोर भएको नेता कोइरालाको गुनासो

blog

फाइल तस्बिर

काठमाडौँ, असोज २७ गते । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण कांग्रेस अरू पार्टीभन्दा बलियो रहेको बताउनुभएको छ । नेपाली कांग्रेस र नेविसंघ लमजुङ-काठमाडौँ सम्पर्क समितिले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान-प्रदान तथा चियापान’ कार्यक्रममा उहाँले पछिल्लो समय कांग्रेसभित्र बिपीको विचार समाप्त हुने डर रहेको बताउनुभयो । 

“बिपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बिपीको विचार अङ्गालेमा कांग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन,” नेता कोइरालाले भन्नुभयो । उहाँले बिपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेसका नेता दिलबहादुर घर्तीले १२ बुँदे सम्झौताका आधारमा देशमा शान्ति  र स्थिरता कायम भएको बताउँदै अहिलेको संविधान कांग्रेसको नेतृत्वमा जारी भएकाले कार्यान्वयनको जिम्मेवारी पनि काङ्ग्रेसको काँधमा रहेको उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोला र लक्ष्मी खतिवडाले पार्टीलाई कमजोर बनाउन विभिन्न शक्ति लागेको भन्दै सचेत भएर अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो । 

कांग्रेस लमजुङका सभापति डा.टकराज गुरुङ र पूर्व सभापति भेषबहादुर पौडेलले लमजुङमा पार्टीलाई विजय बनाउन काठमाडौँमा बसोबास गर्ने कार्यकर्ताको ठुलो भूमिका रहेको बताउनुभयो । संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व सहायकमन्त्री डा.रामचन्द्र अधिकारी, कांग्रेस गण्डकी प्रदेशका सङ्गठन विभाग प्रमुख हरि बराल, नेविसंघका पूर्व कोषाध्यक्ष शिव रिमाल, नेविसंघ लमजुङ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष डिवी पराजुलीलगायतले लमजुङमा अग्रजले गरेको त्यागलाई आत्मासाथ गर्दै कांग्रेसको सङ्गठन विस्तारमा जुट्नुपर्ने बताउनुभएको थियो । 

नेपाली कांग्रेस लमजुङकाठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारी, सचिव रमेश अधिकारीलगायतले पार्टीभित्र युवा पुस्तालाई अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । रासस