• ७ माघ २०८१, सोमबार

निजी क्षेत्रमैत्री वातावरण बनाउँछौँ : प्रम

blog

कन्हैलाल केसरी 

पर्सा, असोज २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समुन्नतिका दिशामा निजी क्षेत्रमैत्री वातावरण निर्माणमा सघाउ पुर्‍याउनेतर्फ सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीको नेतृत्वमा वीरगन्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीको टोलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर विभिन्न विषयमा गराएको ध्यानाकर्षणपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । 

प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका सामु विद्यमान जटिलतालाई निराकरण गर्ने दिशामा मातहतका निकायलाई शीघ्र निर्देशन दिइने बताउनुभयो । “जबसम्म उद्योगी, व्यवसायीको मनोबल उच्च हुँदैन तबसम्म राष्ट्रिय अर्थतन्त्रले सही गति लिन सक्दैन,” उहाँले भन्नुभयो, “मेरो प्रयास आर्थिक समुन्नतिका दिशामा निजी क्षेत्रमैत्री वातावरण निर्माणमा सघाउ पुर्‍याउनेतर्फ रहेको छ ।” 

मधेश प्रदेशका राज्यमन्त्री अन्सारीले निजी क्षेत्रको समस्यालाई समाधान गर्नेतर्फ राज्यस्तरबाट प्रभावकारी भूमिका निर्वाह गरिनुपर्ने बताउनुभएको थियो । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले पर्सा बाराका साथै समग्र देशकै निजी क्षेत्रको मनोबल खस्किरहेको अवस्थामा सरकारले अभिभावकको भूमिका खेल्नुपर्ने बताउँदै प्रधानमन्त्रीसमक्ष त्यसका लागि आग्रह गर्नुभएको थियो । 

उद्योग, व्यापार, व्यवसाय दिनप्रतिदिन ह्रासोन्मुख भइरहेको, बैङ्कहरूले पर्याप्त तरलता हुँदाहुँदै पनि ऋण प्रवाह प्रक्रियालाई नियन्त्रण गरिरहेको, कर, भन्सार, राजस्व तथा अन्य नियामक निकायले निर्बाध व्यापारिक क्रियाकलापमा अनेकानेक अवरोध सिर्जना गरी आर्थिक गतिविधिलाई प्रशासनिक घेराबन्दीमा पारेको भन्दै उहाँले उद्योग व्यवसाय क्षेत्रका समस्यालाई शीघ्र सम्बोधन गर्न आग्रह गर्नुभएको थियो ।