गोरखापत्र अनलाइन
चितवन, माघ ६ गते । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरु निरुपण गर्नेगरी कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको पूर्ण बैठकमा आज उहाँले सो आग्रह गर्नुभएको हो ।
महासचिव लामाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रमको ब्यापार फस्टाइरहेकाले त्यस्ता भ्रम चिरेर समाजलाई समृद्धिको दिशातिर अघि बढाउन मिडियाकर्मी दरिलो ढंगले लाग्नुपर्नेमा जोड दिनुभयो । ‘सरकारका विरुद्ध अनावश्यक टिकाटिप्पणी गर्दै नेतृत्वको तेजोबोध गर्ने प्रवृति बढेको छ’ उहाँले भन्नुभयो, ‘म पत्रकार साथीहरुलाई भन्न चाहन्छु तपाईहरुका कलम सत्यता र समृद्धिको पक्षमा निडरका साथ चल्नुपर्छ ।’
संगठन सुदृढीकरणका लागि गर्नुपर्ने काम र भूमिकाको विषयमा आफ्नो धारणा राख्दै महासचिव लामाले पत्रकारको क्षमता बिकास र सुरक्षाको सबालमा पनि संबेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा बसेको बैठकमा बाग्मती प्रदेशका जिल्ला अध्यक्षहरु, केन्द्रीय सदस्यहरु लगायतले पछिल्लो समयको मिडियाको अवस्था, पत्रकारको समस्या र सरकारको भूमिका बारेमा धारणा राखेका थिए । नवलपुर जिल्लाको गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा बसेको बैठकले आठबुँदे घोषणापत्र जारी गरेको छ ।