जनार्जन खत्री
सर्लाही, माघ ६ गते । जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले आइतबार चन्द्रनगर गाउँपालिका –३ र ४ का ५५ दलित विपन्न परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।
विगत तीन दिनदेखि जिल्लाका विभिन्न पालिकामा चिसोबाट अति प्रभावित दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गर्ने काम चलिरहेको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुुभयो । सोही क्रममा आइतबार दिउँसो चन्द्रनगरका ५५ दलित परिवारलाई एक–एक थान फाइबर सिरक वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष गीतादेवी महतो, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका निमित्त जिल्ला प्रमुख रामरिजन यादव, चन्द्रनगर–३ का वडाध्यक्ष सीताराम महतोलगायत भएर चिसोबाट कठ्याङग्रिएका दलित परिवारलाई सिरक वितरण गर्नुभएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिले शनिबार बलरा नगरपालिका र रामनगर गाउँपालिकाका १५२ परिवार, शुक्रबार पर्सा गाउँपालिकामा ६८ परिवार र बिहीबार विष्णु गाउँपालिकामा ६१ परिवारलाई फाइबर सिरक उपलब्ध गराएको थियो ।
जिल्लाका अन्य पालिकामा पनि चिसोले अति प्रभावित बनेका परिवारको पालिकासँग विवरण माग गरिएको र विवरण प्राप्त हुनासाथ क्रमशः सिरक वितरण हुने जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले जनाएको छ ।