राधा लुइटेल
फिदिम, माघ ६ गते। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो प्रदेश महाधिवेशन उद्घाटन समारोहमा पाँच जना अग्रज फोनिजकर्मीलाई सम्मान गरिएको छ।
फोनिजको एक नम्बर प्रदेश समितिले उहाँहरुलाई सम्मान गरेको हो।सम्मानित हुनेमा फोनिज (तत्कालीन अनिज) का संस्थापक सदस्य दिलेन्द्र कुरुम्बाङ, पूर्व संघीय उपाध्यक्ष द्वय भैरव आङला र दिपीन राई, एक नम्बर प्रदेशका पूर्व प्रदेश अध्यक्ष तथा हाल संघीय अनुशासन आयोग संयोजक अर्जुन जम्नेली राई र प्रदेश सल्लाहकार निलिफा सुब्बा हुनुहुन्छ।त्यस्तै फोनिजलाई सहयोग गर्ने बुद्धभूषण योञ्जनसमेत सम्मानित हुनुभएको छ।
फोनिजको तेस्रो प्रदेश महाधिवेशन पाँचथर सदरमुकाम फिदिममा सुरु भएको हो।फिदिमस्थित जिल्ला समन्वय समितिको सभाहलमा महाधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य कमलप्रसाद जबेगूले गर्नुभएको हो।
तेस्रो प्रदेश महाधिवेशनको सन्दर्भ पारेर प्रकाशित गरिएको फोनिज प्रदेश–१ को मुखपत्र ‘अग्रगामी कदम’को विमोचनसमेत भएको छ।
मुखपत्रमा फोनिज प्रदेश–१ का गतिविधि मात्र नभएर पहिचान र पत्रकारिताका विविध आयामबारेका विचारोत्तेजक सामग्रीहरु समेटिएको सम्पादक सन्देश सुब्बाले बताउनुभयो।
महाधिवेशनको बन्दसत्र आइतबार सुरु भएको छ।जारी अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने बताइएको छ।