काठमाडौँ, असार ५ गते । काठमाडौँ महानगरपालिका वडा नं २७ को आयोजनामा सञ्चालन भइरहेको श्रीमती मंगलादेवी सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगितअन्तर्गत दोस्रो दिन पाँच चरणको खेल सम्पन्न भएका छन् ।
दोस्रो संस्करणको बुद्धिचाल स्पर्धामा काठमाडौँका युवा खेलाडी सीएम पुरुषोत्तम सिलवाल सबै प्रतिद्वन्दीलाई पराजित गर्दै पूर्ण पाँच अङ्ककासाथ एकल अग्रता हासिल गर्न सफल हुनुभएको छ ।
गत महिना श्रीलङ्कामा सम्पन्न वेस्टर्न एसियन एमेच्योर चेस प्रतिस्पर्धामा नेपाललाई रजत पदक दिलाउनुभएका उदियमान खेलाडी सीएम पुरुषोत्तमले क्रमश: हार्दिक पन्त, रामकृष्ण महर्जन, महेन्द्रकुमार साम्बा हाम्फे, शैलेन्द्र न्यौपाने र सीएम नवीन तण्डुकारलाई पराजित गर्नुभएको छ ।
प्रतिस्पर्धामा तीनजना खेलाडीहरूले समान ४.५ अङ्क जोडेर संयुक्त दोस्रो स्थानमा रहन सफल हुनुभएको छ । जसमा मकवानपुरका एफएम क्षितिज भण्डारी, झापाका प्रकाशचन्द्र नेपाल र ललितपुरका सुरज महर्जनले पुरुषोत्तमलाई पछ्याउनुभएको छ ।
क्षितिजले पाँचौँ चरणमा प्रकाशचन्द्रसँग बराबरी खेले भने चौथो चरणको खेलमा खोटाङका धिरेन राई र तेस्रो चरणमा काठमाडौँका कुशल बेलबासेमाथि जित निकाल्नुभयो ।
पाँचौँ चरण बराबरी खेल्नुभएका प्रकाशले तेस्रो र चौथो चरणमा स्याङ्जाका सुशील सुवेदी र काठमाडौँका जनार्दन श्रेष्ठलाई पराजित गर्नुभएको छ ।
यसैगरी ललितपुरका सुरज महर्जनले तेस्रो, चौथो र पाँचौँ चरणमा क्रमशः अशोकमोहन श्रेष्ठ, सन्देश श्रेष्ठ र कमल श्रेष्ठलाई पराजित गर्नुभएको छ ।
ज्याठास्थित अन्नपूर्ण उच्च माविको सभाहलमा जारीप्रतियोगितामा काठमाडौँका जनार्दन श्रेष्ठ, सीएम नवीन तण्डुकार, खोटाङका धिरेन राई, काभ्रेका राहुल चौप्रधान, दोलखाका आशिष फुयाल, झापाका राजन सुवेदी र काठमाडौँकै सीएम भगवती प्रसाद शर्माले समान ४.४ अङ्क बटुलेर संयुक्त तेस्रो स्थानमा उभिन सफल हुनुभएको छ ।
त्यस्तै महिलातर्फ भर्खरै सम्पन्न भएको नेशनल जुनियर विजेता रिया श्रेष्ठले तीन अङ्क जोडेर अग्रता लिनुभएको छ । रियासँगै समान तीन अङ्क प्राप्त गर्नेमा प्रतिमा बास्कोटा, शान्ति धिमाल र ओमन नेशनल च्याम्पियन सिन्दिरा जोशी हुनुहुन्छ ।
स्वीस लिग प्रणाली अनुसार नवौँ चरणसम्म हुने प्रतियोगितामा विजेताले २५ हजार, उपविजेताले २० हजार र तृतीय स्थान प्राप्त गर्ने खेलाडीले १५ हजार रुपियाँ पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा कूल नगद पुरस्कार एक लाख ४५ हजार रहेको छ।