• ६ माघ २०८१, आइतबार

एकल पुरुषलाई मासिक भत्ता

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, माघ ६ गते । यहाँको हरिनास गाउँपालिकाले ६० देखि ६८ वर्ष उमेरका एकल पुरुषलाई भत्ता दिन निर्णय गरेको छ । पालिकाको १६ औँ गाउँ सभामा कार्यविधि बनाएर एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो । 

कार्यविधिमा तोकिएको उमेर भएको र कुनै सरकारी सेवामा नरहेको तथा स्वदेशबाट मात्रै नभएर वैदेशिक निकायबाट समेत सेवा प्राप्त नगरेकाहरूलाई भत्ता दिने भएको हो । एकल पुरुषले श्रीमतीको मृत्यु भएको वा अदालतबाट सम्बन्धविच्छेद भएर पुनः विवाह नभएको प्रमाणित कागजपत्र हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । 

कार्यविधिमा उल्लेख भए अनुसारको प्रक्रिया पूरा गरेको अवस्थामा वडा कार्यालयबाट मासिक रूपमा एक हजार रुपियाँ एकल पुरुष भत्ता प्रदान गरिने गाउँपालिकाले जनाएको छ । श्रीमतीको मृत्यु वा सम्बन्धविच्छेदबाट एकल पुरुषलाई जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले भत्ता दिने निर्णय गरिएको पालिकाका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभयो ।

त्यसै गरी पालिकाले स्थानीय मदिराजन्य पेय पदार्थको ब्रान्डिङ गर्ने ऐन २०८१ समेत बनाएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थानीयस्तरमा उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्न ऐन निर्माण गरिएको र यसका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरेको अध्यक्ष मानन्धरले बताउनुभयो ।