• ६ माघ २०८१, आइतबार

जैविक विषादीमा फर्किए किसान

blog

भेरीगङ्गा नगरपालिका–११ का किसानले जैविक विषादी प्रयोग गरी उत्पादन गरेको तरकारी । तस्बिर : रजनी योगी

रजनी योगी 

सुर्खेत, माघ ६ गते । रासायनिक मलको उच्च प्रयोग गर्ने यहाँका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । तरकारीमा किरा लागेमा रासायनिक विषादी प्रयोग गर्ने किसान अहिले स्वास्थ्य, वातावरण र माटो सुरक्षामा सचेत बनेका हुन् । 

तरकारी तथा अन्नबालीमा किरा लागे रासायनिक विषादी प्रयोग गर्ने भेरीगङ्गा नगरपालिका–११, साँदीखोलाका टेकबहादुर घर्ती आजभोलि घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताउनुहुन्छ । उहाँले १० रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । २०७९ सालदेखि तरकारीमा जैविक विषादीको प्रयोग गर्ने गरेको उहाँले जानकारी दिनुभयो । उत्पादनमा वृद्धि हुने र गाउँघरमै पाइने जैविक विषादी प्रयोग गर्दा निकै सहज भएको उहाँको बुझाइ छ । 

भेरीगङ्गा–११ कै गङ्गा खत्री पनि केही समययता आफ्नै घरमा बनाएको जैविक विषादी प्रयोग गर्नुहुन्छ । “विषादी प्रयोगमा सावधानी नअपनाउँदा यसले मानिस र पशुलाई समेत हानी पुर्‍याउने थाहा पाएपछि घरमै बनाएको विषादी प्रयोग गर्न थालेकी हुँ,” उहाँ भन्नुहुन्छ । जैविक विषादी खर्चका हिसाबले पनि कम, मानव स्वास्थ्यलाई पनि हानी नगर्ने हुँदा जैविक विषादी प्रयोग गर्ने गरेको किसान चित्रबहादुर जिसीको भनाइ छ । मोहनी पासो र फेरोमन ट्र्यापलगायतका प्रविधि किरा नियन्त्रणमा प्रयोग गर्ने गरेको उहाँले जानकारी दिनुभयो । साँदीखोलाकै किसान परे रानाले पनि २०७२ सालदेखि तरकारी खेती गरिरहनुभएको छ । उहाँले पहिले तरकारी तथा फलफूल खेतीमा रोग, किरा लागेमा रासायनिक विषादी किनेर प्रयोग गर्नुहुन्थ्यो । अहिले उहाँले जैविक विषादीबाहेक आफ्नो बारीमा अरू विषादी प्रयोग गर्नुहुन्न । 

भेरीगङ्गा नगरपालिकाले पनि रासायनिक विषादीको साटो जैविक विषादी प्रयोगमा किसानलाई प्रोत्साहन गरिरहेको छ । जैविक विषादीबारे पालिकाका सबै किसान जानकार भएमा सहज हुने कृषि शाखा प्रमुख सुरज बिसीले बताउनुभयो । रासायनिक विषादीका असर धेरै रहेकाले किसानलाई सचेत गराउन थालिएको उहाँले बताउनुभयो । जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्रजीव एवं सूक्ष्म जीवहरू पर्नुका साथै विभिन्न जीव तथा वनस्पतिको तत्व, उत्पादन वा सक्रिय तत्व मिसाएर बनाउने गरिएको उहाँले जानकारी दिनुभयो । 

यहाँका किसानलाई वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड) ले जैविक विषादीसम्बन्धी तालिम र उपकरण प्रदान गर्दै आएको । जैविक विषादीको प्रयोगले माटो सप्रेको र उत्पादनमा समेत वृद्धि किसानको अनुभव छ ।

अर्गानिक उत्पादनलाई सामुदायिक केन्द्र 

कर्णाली प्रदेश सरकारले अर्गानिक उत्पादन बढाउन सामुदायिक सिकाइ केन्द्र निर्माण गर्ने भएको छ । १० वटै जिल्लामा सिकाइ केन्द्र स्थापना गरेर प्रदेशले जैविक विषादीको उत्पादनमा जोड दिने लक्ष्य लिएको हो । प्राङ्गारिक मल उत्पादन गरेर तरकारी खेती विस्तार गर्ने उद्देश्यले सिकाइ केन्द्र स्थापना गर्न लागिएको मन्त्रालयका कृषि प्रसार अधिकृत बखतबहादुर खड्काले बताउनुभयो । विषादीरहित उत्पादनमा जोड दिने गरी सिकाइ केन्द्रमा सहजीकरण गरिने छ । यस वर्ष सिकाइ केन्द्र स्थापनाका लागि ५० लाख बजेट विनियोजन गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । 

जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा देखिएको समस्या न्यूनीकरण गर्न र सरल तथा किफायती प्रविधिबाट अनुसन्धान गर्ने उद्देश्यले सिकाइ केन्द्र स्थापना गरिएको सिप्रेडका ग्रेप परियोजना संयोजक शङ्कर न्यौपानेले बताउनुभयो । यसमा जलवायु उत्थानशील कृषि अभ्यास एकै ठाउँमा अभ्यास गरी प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो । सबै सामुदायिक केन्द्रमा झोल मलको उत्पादन तथा प्रयोग, गँड्यौले मलको उत्पादन तथा प्रयोग, भर्मीवासको उत्पादन तथा प्रयोगलगायत विधिको प्रयोग गरी प्रदर्शन हुने गरेको छ ।