प्रवीण कुमार शर्मा
चन्द्रपुर, (रौतहट) असार ६ गते । रौतहटको माधवनारायण नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि ५३ करोड ३५ लाख ८९ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम र बजेटमा पालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेको हो ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटको आय स्रोतमा आन्तरिक आम्दानीबाट १ करोड रुपियाँ, नेपाल सरकार वित्तीय हस्तान्तरणबाट १० करोड ७३ लाख रुपियाँ, नेपाल सरकार सशर्त अनुदान २६ करोड ६७ लाख, नेपाल सरकार समपुरक अनुदान ५० लाख र संघिय सरकार राजस्व बाँडफाँटबाट १० करोड १२ लाख रुपियाँ अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकार सशर्त अनुदानतर्फ २ करोड ५० लाख, प्रदेश सरकार समपुरक अनुदान ७३ लाख ५५ हजार, प्रदेश सरकार विशेष अनुदान ३० लाख, प्रदेश सरकार बिशेष अनुदान ३० लाख र प्रदेश सरकार समपुरक अनुदान २० लाख अनुमान गरिएको छ ।
माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले आज शुक्रवार आयोजित कार्यक्रममा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको हो । नगर प्रमुख यादवका अनुसार यो बजेट पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरिएको हो । कृषकहरूको जीवनस्तर उकास्न नगर सभाले बिशेष प्राथिमिकतामा राखेर कार्यक्रम ल्याएको नगर प्रमुख यादवले बताउनुभयो ।
बजेट प्रस्तुत गर्दै नगर प्रमुख यादवले पालिकाको आवश्यकता, बजेटको अवस्था र प्राथमिकतालाई ध्यानमा राख्दै यो बजेट तयार पारिएको बताउनुभयो । उहाँले यो बजेटले नगरपालिकाको समग्र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
किसानसँग नगरपालिका ,नगरका हरेक किसानको खेतमा सिंचाइको सुबिधा, बाँझो जग्गामा वृक्षारोपण, अनुदानमा आधारित कृषि मोटर, बिउ तथा मलको ब्यवस्था खुला प्रतिस्पर्धा बाट बिद्यालयमा प्रधानाध्यापकको ब्यवस्था , नगरका सम्पूर्ण बिद्यालयमा बुक फ्री फ्राइडे, निर्माणाधीन १५ शैयाको अस्पताल सुचारु गरि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान, नगरपालिकाको ४ ओटा वडामा बर्थिंग सेन्टर संचालन, गौरवको योजना मिठुअवा नहरदेखि माधोपुर जाने सडक निर्माण, बागमती नदीमा झोलुङ्गे पूल निर्माणलाई प्राथमिकता, प्रशासकीय भवन निर्माण सम्पन्न गरि आफ्नै भवनबाट सेवा प्रवाह लगायतका कार्यक्रम नीति, कार्यक्रम तथा बजेटमा समेटिएको छ ।
सुशासन, पारदर्शिताको लागि नगरपालिकाको हरेक सुचनामा जनताको पहुँच पुर्याइने नगर प्रमुख यादवले बताउनुभयो ।