• १२ असार २०८१, बुधबार

स्वदेशी औषधी उद्योगको विकास तथा प्रवर्धनमा जोड

blog

काठमाडौँ, असोज २७ गते । नेपाली औषधी उद्योगको विकास तथा प्रवर्धनका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताइएको छ । 

नेपाल औषधी उत्पादक सङ्घ र औषधी व्यवस्था विभागले आयोजना गरेको औषधीसम्बन्धी बृहत् सम्मेलन ‘फार्मा कन्क्लेभ–२०२३’ मा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सरकारले औषधी उद्योगको विकासका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले औषधीसम्बन्धी नीतिनियममा पनि नेपाली औषधीको हित गर्ने खालका नीति ल्याउन सहयोग गर्ने बताउनुभयो । उहाँले नेपाली औषधी उद्योगको विकास, नीतिगत पैरवी, औषधी बजारलाई सुधार र प्रभावकारी रूपमा स्तरोन्नति गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाली औषधी उद्योग विकासका चुनौती र अवसरको जानकारी, औषधी उद्योगको प्रवर्धनका लागि भावी रणनीतिहरू विषयमा समूहगत छलफल भएको थियो । औषधी उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले सम्मेलनले नेपाली औषधी उत्पादक तथा प्रतिनिधि, औषधी व्यवसायी, औषधी अनुसन्धानकर्ता र निर्यात कर्तालाई एकै ठाउँमा ल्याएको बताउनुभयो । उहाँले नेपाली औषधी उद्योगको विकास, नीतिगत पैरवी, औषधी बजारलाई सुधार र प्रभावकारी रूपमा स्तरोन्नति गर्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले छलफलबाट नेपाली औषधी उद्योग कहाँ छ ? कहाँ पुग्नुपर्ने हो ? राज्यको नीतिमा कहाँ कहाँ ग्याप छ भन्ने विषयमा व्यापक छलफल भएको जानकारी दिनुभयो ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरमा जोड दिँदै सिस्टम सुदृढीकरणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले विश्वव्यापी प्रतिस्पर्धामा जाने उद्देश्यले काम गर्न पनि उद्योगीलाई सुझाव दिनुभयो । उहाँले औषधी क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै यसलाई स्वस्थ रूपमा चलाउनुपर्ने बताउनुभयो । सम्मेलनको समूहगत छलफलमा भारतका डा. निकुञ्ज पटेल, बङ्गलादेशका डा. सितेस सी बचारसहित टिजिग फार्माका कार्यकारी निर्देशक शैलश वैद्य, औषधी व्यवस्था विभागका पानबहादुर क्षेत्री, औषधी विज्ञ डा. पन्ना थापालगायतले भाग लिनुभएको थियो । 

यस्तै क्षेत्रीले औषधीका क्षेत्रमा सरकारको नीति, थापाले नेपालको औषधी उत्पादनको क्षेत्रमा भएका कार्य र गर्नुपर्ने कार्य, नेपालमै पहिलो पटक एन्टी क्यान्सरको औषधी बनाएका वैद्यले टेक्नोलोजी ट्रान्सफर र फरेन डाइरेक्ट इन्भेस्टमेन्टका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । समूहगत छलफलको सहजीकरण वरिष्ठ उपाध्यक्ष महेश प्रधानले गर्नुभएको थियो ।