• १२ असार २०८१, बुधबार

बढ्न थाल्यो सुनको मूल्य

blog

काठमाडौँ, असोज २७ गते । पछिल्लो समय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । पछिल्लो १० दिनमा बजारमा सुनको मूल्य तीन हजार पाँच सय रुपियाँले बढेको हो । 

गत १६ असोजमा मूल्य घटेर प्रतितोला एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर एक लाख १० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लामो समयदेखि बढ्दै गएको सुुनको मूल्य अमेरिकी फिडर बैङ्कले ब्याजदर बढाएपछि असोज दोस्रो सातादेखि मूल्य घट्न थालेको थियो । महासङ्घका अनुसार पछिल्लो समय इजरायल प्यालेस्टाइन युद्धको प्रभावले यो साता सुनको मूल्य बढेको छ । सोही प्रभावले कच्चा तेलको मूल्य पनि बढ्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् । 

यो साता विश्व बजारमा सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा चर्किएको द्वन्द्वको प्रभावका कारण लगानीकर्ता सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुन थालेकाले सुनको माग बढ्न गई मूल्य वृद्धिमा चाप परेको व्यवसायीको भनाइ छ । दुई साताअघि निरन्तर बढेको सुनको मूल्य त्यसयता अमेरिकी डलरको विनिमय दर स्थिर बन्दै गए पछि र सुनको बिक्री बढेपछि मूल्य घटेको थियो । इजरायलमा भएको द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा समेत उतार चढाव आई त्यसको प्रभाव सुनको मूल्यमा समेत पर्न सक्ने विश्लेषकहरूको अनुमान छ । 

नेपाली बजारमा पनि यो साताको पहिलो दिन प्रतितोला एक लाख सात हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार एक लाख आठ हजार छ सय रुपियाँमा पुगेको थियो । यस्तै मङ्गलबार प्रतितोला एक लाख आठ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार सामान्य घटेर एक लाख आठ हजार आठ सय रुपियाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला एक लाख नौ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुन शुक्रबार एक लाख १० हजार एक सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ । यो साता बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो आइतबार प्रतितोला चाँदीको मूल्य एक हजार ३३० रुपियाँमा कारोबार भएको अन्तिम दिन शुक्रबार बढेर तोलामा एक हजार ३४५ रुपियाँमा कारोबार भएको हो ।      

यसैबिच बजारमा दसैँ सुरु हुन थालेपछि सुनको कारोबार बढ्न थालेको छ । लामो समयदेखि सुनसान रहेको नयाँ बजारका सुनचाँदी पसलमा सामान खरिद गर्ने ग्राहकको भिडभाड लाग्न थालेको छ । केही दिनयता बजारमा चहलपहल बढुनका साथै कारोबारमा सुधार हुँदै गएको व्यवसायीको भनाइ छ । महासङ्घका अनुसार हाल दैनिक १५ देखि २० किलोसम्म सुन बिक्री हुने गरेको छ । विगतका चाडपर्वमा जस्तो कारोबार नभए पनि अन्य समयको तुलनामा गत सातादेखि क्रमिक रूपमा सुधार हुुन थालेको हो ।