चितवन, असोज २६ गते । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले नेपालको कला संस्कृतिको सिको विश्वका देशले गर्न थालेको बताउनुभएको छ । माडीमा आजदेखि सुरु भएको घरबास (होमस्टे) महासङ्घको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले नेपालको संस्कृति संरक्षण र समृद्धिका लागि होमस्टेले ठूलो सहयोग गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “होमस्टेले कला संस्कृति, सभ्यता, परम्परा र संस्कारलाई जीवित राख्न मद्दत गरेको छ ।” नेपालमा मात्रै नभई विश्वमा नै प्रचारप्रसारमा ल्याउन सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “हाम्रो परम्परा र संस्कृतिको अध्ययन गर्न विदेशीसमेत आउने गरेका छन् ।” संस्कृति र सभ्यताले धनी देश भएर पनि अतिथि सत्कार ग्रहण गर्न नसकेको उहाँले बताउनुभयो ।
होमस्टेले आर्थिक गतिविधिमा समेत टेवा पु¥याउने गरेको उहाँको भनाइ थियो । यस्ता होमस्टेलाई फराकिलोरुपमा अघि बढाउनु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो संस्कृति र संस्कार गहनाका रुपमा रहेको छ । यसलाई बचाइ राख्नुपर्छ ।” विश्वका कतिपय देश धनी भएर पनि संस्कृति र सभ्यताको कमीका कारण पछि परेको भन्दै उहाँले संस्कार र संस्कृतिको संरक्षणमा राज्यले सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, होमस्टे महासङ्घ बागमती प्रदेशका सल्लाहकार श्री प्रसाद दवाडी, महासङ्घका अध्यक्ष प्रेमशङ्कर मर्दनिया, महासचिव कृष्ण चौधरीलगायतले होमस्टे सिटीका रुपमा माडीलाई विकास गर्न आवश्यक रहेको बताउनुभयो । होमस्टेले कला, संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने उहाँहरुको भनाइ थियो ।
महाधिवेशनमा हिमाल, पहाड र तराई–मधेसका एक हजार पाँच सय गाउँबाट सात हजार होमस्टेका करिब पाँच सय प्रतिनिधि र एक सय पर्यवेक्षक सहभागी भएका छन् । नेपालको ६८ जिल्लामा होमस्टे रहेका छन् । महाधिवेशनको बन्दसत्र माडी नगरपालिका वडा नं ९ मा रहेको दुरा सामुदायिक होमस्टेमा हुनेछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेजनाइएको छ । रासस