काठमाडौं, असोज २६ गते । राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभएको हो ।
उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरु देवेन्द्र दाहाल, सुरेश आलेमगर, शारदादेवी भट्ट, भुवनबहादुर सुनुवार, डा. विमला राई पौडेल, नारायणप्रसाद दाहाल, गङ्गाकुमारी बेल्वासेले भाग लिनुभएको थियो ।
कैलालीको गोदावरी नगरपालिका–४ स्थित निर्माणाधीन गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न तथा चिकित्सा शिक्षामा गुणस्तरीय अध्ययन अध्यापन गराउन सरकारले यो विधेयक प्रस्तुत गरेको हो । सो विधेयक यही असोज १९ गते सभामा दर्ता भएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक यही असोज ३० गते १ बजे बस्नेछ । रासस