• १५ मंसिर २०८१, शनिबार

जनप्रतिनिधिसँग लैङ्गिक समावेशीकरणसम्बन्धी छलफल

blog

फाइल तस्बिर

खोटाङ, असोज २६ गते । स्थानीय तहका जनप्रतिनिधिसँग लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूल प्रवाहीकरणसम्बन्धी छलफल गरिएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार दिक्तेलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी स्थानीय तहका विषयगत समितिका संयोजक, सदस्यसचिव, पालिका उपप्रमुख, विषयगत समितिका सदस्यसचिव, निर्वाचित जनप्रतिनिधि र कार्यपालिका सदस्यलाई सहभागी गराएर छलफल गरिएको हो । 

‘सी लिड्स–महिला नेतृत्व’ कार्यक्रम सञ्चालन भएका आठ स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका र जन्तेढुङ्गा गाउँपालिकाबाहेक अन्य स्थानीय तहका ३१ प्रतिनिधिलाई सहभागी गराएर कार्यक्रम गरिएको आयोजकले जनाएको छ । स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति बनाउने, बजेट विनियोजन गर्ने र लागू गर्ने वातावरण निर्माणका लागि जनप्रतिनिधिलाई सहभागी गराएर अन्तरक्रिया गरिएको परियोजनाका जिल्ला कार्यक्रम संयोजक इन्दुकला राईले जानकारी दिनुभयो । 

“राज्यको मूल नीतिमा लैङ्गिक समानता र समावेशीकरण सम्बन्धी नीति, योजना र बजेट बनाउनुपर्छ भन्ने भए पनि कार्यान्वयन नभएकाले आगामी दिनमा लागू गराउने उद्देश्यले कार्यक्रम राखिएको हो”, उहाँले भन्नुभयो । संयोजक राईका अनुसार निर्वाचित दलित तथा सीमान्तकृत महिलाको अधिकार संरक्षण, प्रवर्द्धन, आर्थिक सवलीकरण तथा आत्मसम्मानको क्षेत्रमा परियोजनाले काम गर्दै आएको छ ।

सामाजिक तथा आर्थिक विकास, वातावरण तथा विपद व्यवस्थापन समितिलाई सहभागी गराएर छलफल गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका उपाध्यक्ष अरुणा थापामगर, साकेला गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्षलगायतको सहभागिता थियो । 

जिल्लाका साकेला, रावाबेसी, ऐसेलुखर्क, खोटेहाङ, दिप्रुङ चुइचुम्मा र जन्तेढुङ्गा गाउँपालिका तथा हलेसी तुवाचुङ, दिक्तेल रुपाकोट मकुवागढी नगरपालिकामा ‘सी लिड्स-महिला नेतृत्व’ परियोजना सञ्चालन भइरहेको छ । रासस