• १२ मंसिर २०८१, बुधबार

जाजरकोटमा डेंगुको प्रकोप बढ्दै

blog

डेंगुले प्रकोपकै रुप लिँदै गएपछि घरघरमा गएर सचेतना जगाउँदै स्वास्थ्यकर्मी । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत
जाजरकोट, असोज २६ गते ।
जाजरकोटको भेरी नगरपालिकामा डेंगुको प्रकोप बढ्दै जाँदा  स्थानीय त्रसित देखिएका छन् । भेरी नगरपालिकाको वडा नम्बर ९, ११, १२ र १३ मा डेंगुको प्रकोप फैलिएको छ ।

एक सय जनाको परीक्षण गर्दा ६५ जनामा डेंगुको सङ्क्रमण देखिएपछि स्थानीयवासी त्रसित बनेका हुन् । जिल्ला अस्पताल जाजरकोटमा पनि १५ जना डेंगुका बिरामी फेला परेका छन् । उनीहरु सबैको उपचार भइरहेको छ । एकपछि अर्कोमा डेंगुको सङ्क्रमण देखिन थालेपछि आसपासको गाउँमा पनि त्रास फैलिएको छ ।

उपचारमा संलग्न चार जना स्वास्थ्यकर्मी र दुई जना वडाध्यक्षलाई समेत डेंगु सङ्क्रमण भएको छ भने प्रभावित क्षेत्रमा डेंगु परीक्षण किटको अभाव देखिन थालेको छ ।

भेरी नगरपालिका– १३ कुदुमा सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । निमित्त स्वास्थ्य सेवा व्यवस्थापक प्रतीक्षा भारतीले स्थानीय स्वास्थ्यकर्मीले थेग्न नसकेपछि जिल्ला अस्पतालबाट समेत प्रभावित क्षेत्रमा चिकित्सक पुगेर उपचार गर्ने गरेको जानकारी दिनुभयो ।

कुदु क्षेत्रमा पानीको निकै समस्या हुने स्थान भएको र त्यहाँका बासिन्दाले आकासे पानी सङ्कलन गरेर प्रयोग गर्ने गर्दछन् । सोही सङ्कलित पानीमा डेंगु सार्ने मच्छडले फुल र लार्भा निकालिरहेका  तर पनि स्थानीयले उक्त पानी फाल्न नचाहनाले प्रकोप बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।

भेरी नगरपालिकाका महामारी फोकल व्यक्ति जनस्वास्थ्य निरीक्षक दीपक वलीले डेंगु नियन्त्रणको एक मात्र उपाय भनेको सर्च एण्ड डिस्ट्रोइट हो अर्थात् फोहाेर खाल्डाखुल्डी पुर्ने, फोहोर पानी फाल्ने र मच्छडलाई थप लार्भा उत्पादन गर्न नदिने हो तर कुदीवासीको पानीको समस्याले सङ्कलित पानी पोख्न नमान्दा रोग नियन्त्रणमा सकस भएकोे जानकारी दिनुभयो ।

डेंगु परीक्षण किटको अभाव रहेको र रोग नियन्त्रणका लागि सरोकारवाला निकायले चासो नदिँदा डेंगुले प्रकोपकै रुप लिएको जनस्वास्थ्य निरीक्षक वलीकाे भनाइ छ ।