अविनाश चौधरी
धनगढी, असोज २५ गते । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा गोष्ठी आजबाट धनगढीमा सुरु भएको छ ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयद्वारा आयोजित गोष्ठीको सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो । सोक्रममा उहाँले स्वास्थ्य क्षेत्र मानिसको लागि अत्यन्त संवेदनशील रहेको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीलाई इमानदार भएर काम गर्न आग्रह गर्नुभयो ।
स्वास्थ्य क्षेत्रमा थुप्रै समस्या र चुनौती रहेको उल्लेख गर्नुहुँदै उहाँले अगाडि भन्नुभयो, “प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा जेजति बजेट विनियोजन गरेको छ, त्यो बजेटका आधारमा दत्तचित्त भएर काम गरेमा धेरै समस्या र चुनौती समाधान गर्न सकिन्छ ।” उहाँले स्वास्थ्य क्षेत्रमा रहेको गलत प्रवृत्तिको विश्लेषण गरेर अगाडि बढ्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।
यसैगरी, मुख्यमन्त्री कमलबहादुर शाहले स्वास्थ्य क्षेत्रमा रहेको समस्या समाधानका लागि स्रोत साधन र क्षमताले भ्याएसम्म काम गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको उहाँको भनाइ छ ।
“हामीसँग जेजति स्रोत छ, त्यो स्रोत स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि हामी परिचालन गर्छौ” उहाँले भन्नुभयो । प्रदेशको स्वास्थ्य क्षेत्रका लागि प्रदेश सरकारले आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन गर्न नसकेको मुख्यमन्त्रीको भनाइ छ । “भएको जनशक्ति निश्चित मापदण्डमा अगाडि बढ्योकी बढेन भन्ने प्रश्न पनि अहिले उठिरहेको छ” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री शाहले कुनै किसिमको अलमलमा नपरी उच्च मनोबलका साथ काम गर्न स्वास्थ्य क्षेत्रका कर्मचारीलाई निर्देशन दिनुभयो । “तपाईँहरूको पछाडि सरकार छ । हामी छौँ । तपाईँहरूलाई केही हुँदैन, यसको जिम्मा म लिन्छु” उहाँले भन्नुभयो ।
यसैगरी, सामाजिक विकासमन्त्री झपटबहादुर साउदले नागरिक स्वस्थ नभएमा मुलुकलाई नै क्षति हुनेगरेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशका जनतालाई स्वस्थ बनाउनका लागि केही सुधार र पहल गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
मन्त्री साउदले जनशक्तिको अभावलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्नुभयो । “थुप्रै समस्या छन् । नीतिगत सुधार नगरी स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिन्न” उहाँले भन्नुभयो ।
गोष्ठीमा वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । निर्देशनालयका निर्देशक डा. जगदीश जोशीको अध्यक्षतामा गोष्ठीको उद्घाटन भएको थियो । गोष्ठीमा स्वास्थ्य क्षेत्रमा रहेको समस्या, चुनौती, सुधारका प्रयास, हासिल गरिएको उपलब्धिलगायत बारेमा तीन दिनसम्म गम्भीरतापूर्वक छलफल गरिने जनाइएको छ ।