• ११ मंसिर २०८१, मङ्गलबार

चाडपर्वलाई लक्षितगरी सुरक्षा व्यवस्था कडा

blog

मिना कंडेल 

कावासोती, असोज २५ गते । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ  । 

चाडपर्वको मौका छोपी हुने अवाञ्छित गतिविधि, चोरी, डकैती, लुटपाटजस्ता घटनालाई निरुत्साहित बनाउँदै आमनागरिकलाई शान्ति सुरक्षाको वातावरण बनाउन चाडपर्वलक्षित सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख नरहरि रेग्मीले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयले दैनिकरुपमा कमाण्ड पोष्ट, सवारी गस्ती, इकाईको समन्वयमा ग्रामीण गस्ती, मोटरसाइकल गस्ती, राजमार्गमा चेकजाँच, पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, पिकेट, धार्मिकस्थल, पर्यटकीयस्थलको सुरक्षा सेफ्टी पिन कार्यक्रम, रिजर्भ, बजार अनुगमन, यात्रु सहायता कक्षलगायतमा गरी करिब ३२४ जना प्रहरी परिचालित भएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । 

चाडपर्वका क्रममा बढी भिडभाड हुने र यात्रुले दुःख पाउने हुँदा यात्रुलाई सहज आवागमनका लागि राजमार्गका ५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ । यसैगरी धार्मिकस्थलको सुरक्षाका लागि ४ स्थानमा (मौलाकालीका, शाश्वतधाम, दाउन्ने देवी, गजेन्द्र मोक्षधाम) प्रहरी परिचालन गरिनेछ । अन्य स्थानहरूमा आवश्यकताअनुसार परिचालन गरिनेछ । 

गैँडाकोट, कावासोती, दलदले, अरुणखोला र दुम्किवासमा गरी पाँच ठाउँमा सहायता कक्ष स्थापना गरिएको प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

त्यस्तै प्रहरीले धार्मिक र पर्यटकीयस्थलको सुरक्षा गर्नुको साथै बैङ्क सुनचाँदी र आर्थिक कारोबार हुने स्थानको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ । सादा पोसाकमा चेकजाँच र बजार अनुगमन गर्नुको साथै मापसे चेकजाँचलाई पनि सञ्चालन गर्नेछ । 

चाडपर्वमा विशिष्ट व्यक्तिको सुरक्षा गर्नुको साथै झैझगडा र जुवातास नियन्त्रण र अवैध मदिरा नियन्त्रणका लागि पनि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने प्रहरीको तयारी छ  ।

चार्डपर्व अवधिभर जिल्ला प्रहरी कार्यालयमा सिनियर प्रहरी अधिकृतको कमाण्डमा १५ जनाको रिजर्भ टोली रहने बताइएको छ । साथै चाडपर्वको समयमा हुने आवत–जावतलाई व्यवस्थित गर्न अन्तर्राष्ट्रिय सिमाना त्रिवेणी नाकास्थितमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

प्रहरीले सम्बन्धित टिकट काउन्टरबाट टिकट काट्न, पाकेटमार तथा विभिन्न बहाना बनाइ ठगी गर्नेदेखि सावधान हुन, ढोकामा झुण्डिएर वा छतमा बसेर जोखिमपूर्ण यात्रा नगर्न, अपरिचित व्यक्तिले दिएको कुनै पनि चिजबस्तु प्रयोग नगर्न र चालकले लापरबाहीपूर्ण तवरले सवारी साधन चलाएको, मादक पदार्थ, लागूपदार्थ सेवन गरेको पाइएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरेको जिल्ला ट्राफिक प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।