• १९ असार २०८२, बिहिबार

छेकेम्पारको ङुइला नाका खुल्यो

blog

गुणबहादुर रोका 

सुलीकोट, असार १९ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकेम्पारको ङुइला नाका ३ महिनाका लागि खुला भएको छ । उत्तरी गोरखाको मुख्य व्यापारीक स्थल भएकाले उत्तरी गोरखावासीका लागि तिब्बती सुरक्षाकर्मीले मङ्गलबारबाट नाका खुला गरेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नाका खुलेपछि स्थानियवासी खुसी भएका छन् । छेकाम्पारका स्थानिय दैनिक उपभोग्य सामान नजिकै रहेको तिब्बती नाका खुलेपछि वर्षै दिनलाई पुग्ने गरी ओसार पोसार गरी व्यवस्थापन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । 

स्थानीयहरू सामान किन्न तिब्बत बजार जानका लागि नागरिकता र सीमा पार पास लिएर आवतजावतमा गरी तिबब्ती बजारको स्याकसम्म पुग्न सहज भएपछि छेकेम्पारबासी खुसी भएका छन् । चुमनुबी गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार यसअघि द्धिपक्षीय सुरक्षाकर्मी र जनप्रतिनिधिीहरू सम्मालित सीमा सुरक्षा बैठक बसेर मात्र नाका खुला हुने गरेको थियो भने यसपटक नेपालको गृहमन्त्रालयको आदेश आउन ढिला भएपछि बैठक बिना नाका खुला गरिएको पालिका अध्यक्ष लामाको भनाइ छ ।  

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकेम्पारमा रहेको ङुइला नाका नेपाल र चीनबिच आवतजावत गर्ने मुख्य नाका भएकाले सरकारले नाका खोल्न पटक पटक नेपाल सरकार मार्फत चीन सरकारसँग आग्रह गर्दै आएकोमा कोभिडका कारण अहिलेसम्म रेगुलर नाका नखोली केहि समयका लागि नाका खोल्दै आएको चुमनुब्री गाउँपालिकाले जनाएको छ । 

कोभिड १९ महामारी फैलिएपछि २०७६ साल पुस महिनाबाट चिनियाँ पक्षले चुमनुब्री गाउँपालिका-७, ङुइला नाका चुमनुब्री गाउँपालिका-१ को रुइला नाका बन्द गर्दै आएको छ ।