• १३ मंसिर २०८१, बिहिबार

रैथाने बाली संरक्षण

blog

शेरबहादुर सार्की 

बाजुरा, असोज २५ गते । रैथाने बाली लोप हुँदै गएपछि कृषि ज्ञान केन्द्र बाजुराले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको छ । स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यहाँ उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो, उवा, झुमरो, स्थानीय जातको मकै, जौलगायतका अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो । 

रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले संरक्षणमा जोड दिएको भनाइ उहाँको छ । 

व्यावसायिक रूपमा खेती गर्ने किसानलाई प्रदर्शन कार्यक्रम अन्तर्गत ५०/६० हजार मूल्यको बिउबिजन, कृृषि औजार सहयोग गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । पछिल्लो समय रैथाने बालीको उत्पादन घटेको तर परिकारको माग बढेको बताइएको छ । 

स्थानीय बजारमा फापर, कोदो र मकैको पिठो, कागुनो, झुमरो र उवाको माग बढेको छ । रैथानले बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्न सक्ने सम्भावना रहेको देखिन्छ । 

कृषि ज्ञान केन्द्रले रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनको विभिन्न प्रकारका परिकार बनाई खुवाउने गरेको छ । अहिले स्थानीय होटलमा समेत रैथाने बालीको विभिन्न परिकार पाइने गरेको छ । 

हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दालगायतका पालिकाले समेत रैथाने बालीको संरक्षण र प्रवर्धन गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नयाँ र उन्नत जातको बाली भित्रिएसँगै रैथाने बाली हराउन थालेको स्थानीय किसान बताउँछन् ।