• १३ असोज २०८१, आइतबार

अध्यागमन कार्यालय छ तर काम केही छैन

blog

कोकिला ढकाल

इलाम, असोज २५ गते । इलामको पूर्वी सीमा क्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय स्थापनामै सीमित बनेको छ । तीन वर्षअघि पशुपतिनगर नाकामा स्थापना भएको अध्यागमन कार्यालयबाट अहिलेसम्म केही पनि काम हुन सकेको छैन । भारत हुँदै आउने तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेशको सहज ढोका मानिएको पशुपतिनगरमा नेपालतर्फ मात्रै अध्यागमन कार्यालय स्थापना हुँदा यहाँ केही काम नभएको हो । यहाँको अध्यागमनको काम सुचारु गराउन भारततर्फ पनि अध्यागमन कार्यालय स्थापना जरुरी हुन्छ । 

“अहिले कर्मचारी हाजिर गरेर मात्र बसेका छन् । यहाँका अधिकृत काँकडभिट्टामै बस्छन् । यहाँ काम नै हुँदैन भने कामविहीन कर्मचारी किन राख्नु, बरु कार्यालय नै बन्द गरिदिए हुन्छ,” स्थानीय मिलन क्षेत्रीले भन्नुभयो, “भारततर्फ पनि क्वारेन्टाइन राख्ने सङ्घीय सरकार र भारतको केन्द्रीय सरकारबिच नै संवाद र सहकार्य हुनुपर्ने रहेछ । त्यो कहिल्यै पनि हुन सकेको हामीले बुझेनौँ । यसको अर्थ सङ्घीय सरकारले पनि चासो नदिएको बुझ्नु पर्छ ।” 

विशेष गरी पूर्वी पहाडमा उत्पादित कृषि उपजको निर्यातका लागि पशुपतिनगर नाका झापाको काँकडभिट्टाभन्दा धेरै सहज मानिन्छ । किसानका लागि पनि ढुवानी खर्च काम लाग्ने हुँदा कृषि उत्पादनको मूल्य राम्रो हुने अवस्था रहेको सूर्योदय नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राई बताउनुहुन्छ । “यो नाकामा दुवै देशका अध्यागमन कार्यालय हुने हो भने त्यसको प्रत्यक्ष फाइदा पूर्वी पहाडका किसानलाई समेत हुन्छ । पूर्वी पहाडको आर्थिक उन्नति हुन सक्थ्यो,” राईले भन्नुभयो, “वैध नाका बनाउने हो भने यहाँबाट देशका लागि राजस्व सङ्कलनको राम्रो स्थान पशुपतिनगर बन्न सक्छ ।”

इलाम, पाँचथर र ताप्लेजुङबाट दैनिक सयौैँ गाडी अलैँची, अदुवा, चिया, कुचो, टमाटर जस्ता कृषि उत्पादन काँकडभिट्टा नाका भएर निकासी हुने गरेको छ । भारतको दार्जिलिङ, सिक्किम घुमेर फर्कने तेस्रो मुलुकका पर्यटकलाई पनि काँकडभिट्टा नाका भएरै नेपाल प्रवेश गर्नुपर्ने बाध्यता छ । पर्यटकबाहेक पशुपतिनगर नाका हुँदै दैनिक उपभोग्य खाद्यान्नका सामग्री मात्र भारतबाट आयात गर्न सजिलो छ । बाँकी पेट्रोलियम पदार्थ, कृषि बालीका लागि मल, बिउ जस्ता वस्तुले भने नेपाल आउन पशुपतिनगरबाट प्रवेश पाउँदैनन् । नेपालमा उत्पादन भएका अदुवा, चिया, कुचो, जडीबुटी, आलु, तरकारी जस्ता वस्तु भारत निर्यात गर्न पनि पहाडी जिल्लाबाट काँकडभिट्टा नाका नै पु¥याउनुपर्ने बाध्यता छ । “अध्यागमन भएपछि यी सबै वस्तुमा आयात र निर्यातमा सहज हुन्छ भन्ने हामीले बुझेका थियौँ तर ती सबै कुरा अहिले सपना जस्तै भएका छन्,” राईले भन्नुभयो । 

त्यसो त भारततर्फ अध्यागमन कार्यालय राख्न पश्चिम बङ्गालका मुख्यमन्त्रीले खास चासो नराखेको जानकारहरू बताउँछन् । भारतको केन्द्रीय सरकार र पश्चिम बङ्गाल सरकारबिचको आपसी टकरावले गर्दा पनि भारतले यहाँ अध्यागमन कार्यालय राख्न नसकेको पशुपतिनगरस्थित भारततर्फ फाँटकका बासिन्दाको बुझाइ छ ।

यता सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले भारतीय राजदूतसँग अध्यागमन राख्ने विषयमा पटक पटक कुरा भएको बताउनुभयो । “भारतीय राजदूतसँग भारततर्फ अध्यागमन राख्ने विषयमा पटक पटक कुरा भएको छ तर पश्चिम बङ्गाल सरकारको स्वीकृति नभई केन्द्र सरकारले त्यहाँ अध्यागमन राख्न नमिल्ने जस्तो बुझिन्छ । अब सङ्घीय सरकारले यो विषयमा कूटनीतिक पहल नै गर्न जरुरी छ,” उहाँले भन्नुभयो, “पूर्वी पहाडका लागि कृषि, पर्यटन, उद्योगधन्दा सबै क्षेत्रका लागि भारततर्फ क्वारेन्टाइन राख्न लगाएर पशुपतिनगर नाका खुला गरिनु आवश्यक छ ।”

नेपालतर्फ भने तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित अध्यागमन विभागका तत्कालीन महानिर्देशक ईश्वरराज पौडेललगायतले कार्यालय उद्घाटन गर्नुभएको थियो । उद्घाटनका क्रममै थापा र पौडेलले भारततर्फ पनि अध्यागमन स्थापना गराउन परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको बताउनुभएको थियो । कार्यालय स्थापनाको तीन वर्ष बितिसक्दा पनि भारततर्फ भने अध्यागमन कार्यालय स्थापना गराउने विषयमा नेपाल सरकारले केन्द्रीयस्तरमै प्रयास नगर्दा अध्यागमन कार्यालय व्यर्थ भएको स्थानीयवासीको गुनासो छ ।