प्युठान समाचारदाता
प्युठान, असोज २५ गते । जिल्लाको सबैभन्दा ठुलो फाँट झिमरुकमा यति बेला किसानहरू धान काट्ने र भिœयाउने चटारोमा देखिन्छन् । किसानलाई केही वर्षयता मेसिन, औजारको सहयोगले धान भित्र्याउन पाउँदा सहज भएको छ ।
दसैँतिहार जस्ता चाड नजिकिइसकेकाले जति सक्यो छिटो खेतको काम सकेर आनन्दले चाडपर्व मनाउने सोचमा किसान रहेका छन् । प्युठान नगरपालिका–४, जिवारका आशिष कार्कीले थ्रेसर मेसिनबाट धान भित्र्याउँदा छिटो र लागतसमेत घटेको बताउनुभयो । “मानिसले काम गर्दा दिनभर लाग्थ्यो,” उहाँले भन्नुभयो, “मेसिनबाट एकैछिनमा सकियो ।” मेसिनबाट धान झाँट्दा लागतसमेत आधा कम भएको उहाँको भनाइ छ ।
सिँचाइको राम्रो सुविधा भएको झिमरुक फाँटमा समयमै धान रोप्ने र समयमै उत्पादन हुने गर्दछ । अझ पछिल्लो समय मेसिन औजारको प्रयोगले खनजोतदेखि अन्य काम गर्न किसानलाई सहज भइरहेको विमला पौडेलले बताउनुभयो । “अहिले काम गर्नका लागि मान्छे पाउनै गाह्रो छ,” उहाँले भन्नुभयो, “दिनभर लाग्ने काम मेसिनले एकै घण्टामा सकिन्छ ।”
जिल्लामा धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धान जोनका रूपमा काम गर्दै आएको छ । चैते धान र बर्खे धान गरी दुई बाली धान खेती गरी उत्पादन बढाउन कार्यालयले किसानलाई सहयोग गर्दै आएको छ । कृषि यान्त्रिकीकरण, उचित बिउको सिफारिस गरी उत्पादनमा किसानलाई सहयोग गर्दै आएको छ । जसले गर्दा धान उत्पादन र उत्पादकत्वमा समेत वृद्धि हुँदै आएको परियोजनाका कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो ।
जिल्लाभर छ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । त्यसबाट वार्षिक २८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । उन्नत बिउ, प्रविधिको प्रयोगले किसानलाई उत्पादन लागत कम भएको गिरीले बताउनुभयो ।